काठमाडौं । बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत कार्य सुरू भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि खानेपानीको पाइप गए रातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको हो ।
नेपाल विद्युत प्राधिकरणले विद्युतका तारहरु अण्डरग्राउण्ड गर्नका लागि ठाडो रुपमा खन्ने क्रममा हिजो बबरमहलमा रहेको खानेपानीको पाइप फुटेको थियो । जसले गर्दा बबरमहल जलमग्न भएको थियो । पानी बन्द भएपछि गएरातिबाट मर्मतको कार्य सुरु गरिएको हो ।
मर्मत कार्य सकिएपछि पानी वितरण प्रक्रिया सुरु गरिने भएको छ । विद्युत प्राधिकरणले मन्त्रालय तथा मातहाका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानी मन्त्री यादवको भनाइ छ ।