काठमाडौँ, २४ असोज : नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट जडानमा छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिना सेवा तथा सहुलियत दरका मोबाइल डाटा, भ्वाइस र सन्देश प्याकेजसहितको ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ ।
कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट जडान गर्ने ग्राहकलाई रु. ५०० जडान शुल्क मिनाहा गरिनेछ।
त्यस्तै, १००, १५० र २०० एमबीपीएस क्षमताका नयाँ वार्षिक इन्टरनेट प्याकेज खरिद गर्ने ग्राहकले थप एक महिना सेवा पाउनेछन् ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकले जडान शुल्कमा छुट पाउनेछन् ।
वार्षिक प्याकेजअन्तर्गत ग्राहकले १२ महिनाको शुल्क तिरेर १३ महिनासम्म इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन् ।
प्याकेजमा बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
यसैगरी, भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिने ग्राहकलाई रु. एक हजार छुटको सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
टेलिकमले मोबाइल सेवाका ग्राहकका लागि रु. ४९९ र रु. ६९९ का दुई प्रकारका ‘फेस्टिभल अनलिमिटेड’ प्याकेज ल्याएको छ ।
रु. ४९९ को ‘फेस्टिभल अनलिमिटेड’ प्याकेजमा प्रतिदिन पाँच जीबी उच्चगतिको डाटा उपलब्ध हुनेछ । उक्त डाटा सकिएपछि प्याकेजको बाँकी अवधिमा दुई एमबीपीएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिनेछ ।
त्यस्तै, रु. ६९९ को ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेजमा प्रतिदिन १० जीबी उच्चगतिको डाटा उपलब्ध हुनेछ ।
दैनिक डाटा सीमा सकिएपछि बाँकी अवधिमा तीन एमबीपीएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
कम्पनीले भ्वाइस तथा सन्देश सेवामा समेत सहुलियत दरका प्याकेज सार्वजनिक गरेको छ । रु. २०० मा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेटको ‘जोयफुल मिनेट्स’ प्याकेज उपलब्ध हुनेछ ।
त्यस्तै, रु. ९९ मा नेपाल टेलिकमकै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज खरिद गर्न सकिनेछ ।
यी मोबाइल प्याकेजको समयावधि ३० दिनको हुनेछ ।
नेपाल टेलिकमका अनुसार मोबाइल प्याकेजमा समावेश अफरका सुविधा असोज ३० देखि कात्तिक ३० गतेसम्म प्याकेज खरिद गर्ने ग्राहकले प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
पर्वको अवसरमा ल्याइएको यस योजनाबाट नयाँ इन्टरनेट जडान गर्ने तथा मोबाइल डाटा, भ्वाइस र सन्देश सेवा प्रयोग गर्ने ग्राहकलाई सहुलियत पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।