शनिवार, आश्विन १७ गते २०८३

यूएईले भन्यो- पाइलटलाई सहपाइलटले चक्कुले होइन, ‘क्र्यास एक्स’ले हानेका थिए

शनिवार , आश्विन १७, २०८३

काठमाडौँ । यूएईको आधिकारिक समाचार एजेन्सी डब्ल्यूएएमका अनुसार यूएईका अभियोजक जनरलले शनिबार फ्लाई दुबईको विमान एफजेड१०७३का सह-पाइलटले उडानका क्रममा ‘आतंकवादी’ आक्रमणको प्रयास गरेको बताएका छन्।

अभियोजक जनरल हमद सैफ अल सम्सीले सह-पाइलटले ककपिटभित्र ‘क्र्यास एक्स’ दुर्घटनामा प्रयोग हुने बन्चरो ले पाइलटमाथि आक्रमण गरेको र विमान कब्जा गर्ने प्रयास गरेको बताएका छन्।

क्र्यास एक्स सामान्यतया ककपिटमा राखिन्छन् र दुर्घटनाजस्ता आपत्‌कालीन अवस्थामा प्रयोग गरिन्छ।

उनले घटनाको परिस्थिति, आक्रमणको पछाडिको उद्देश्य र कुनै पनि सम्भावित विषय निर्धारण गर्न अनुसन्धान भइरहेको बताए। उनका अनुसार भौतिक र डिजिटल प्रमाण पनि जाँच गरिँदै छ।

यूएईका अभियोजक जनरल हमद सैफ अल सम्सीबाट घटनाका विषयमा यो पहिलो प्रतिक्रिया हो। 

गत बुधबार चालक दलबाहेक १७२ यात्रु लिएर यूएईको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाई दुबईको विमानका को-पाइलटले पाइलट स्मित मच्छरलाई चक्कुले हानेपछि विमान साउदी अरबमा लगेर अवतरण गराइएको थियो।

यात्रुसमेतको सहयोगमा पाइलट स्मितले विमानलाई दुर्घटनाबाट बचाएका थिए। घाइते स्मितलाई साउदीको ताबुकस्थित अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारपछि उनी शुक्रबार यूएई फर्किसकेका छन्।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सह(पाइलट ओमानी नागरिक भएको र उनले विमान दुर्घटना गराउन खोजेको आरोप लगाएका छन्।

फ्लाई दुबईले अहिलेसम्म आधिकारिक रूपमा सह-पाइलटको राष्ट्रियता नबताए पनि उनका विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले एकपछि अर्को कुरा खुलासा गरिरहेका छन्। 

एबीसी न्युजका अनुसार ‘सह-पाइलट ओमानी नागरिक हुन्। ओमान एयरले उनलाई सुरक्षा जोखिमका रूपमा पहिचान गरेको थियो र उडान गर्न प्रतिबन्ध लगाएको थियो।’

एबीसी न्युजले अगाडि लेखेको छ, ‘अधिकारीहरूका अनुसार सह(पाइलट हमाम अल(हमामीले २०२४ मा ओमान एयरमा सह-पाइलट प्रशिक्षार्थीका रूपमा काम गर्दा अतिवादी सामग्री बोकेको भेटिएको थियो। तर पनि उनलाई एयरलाइन्समा प्रशासनिक भूमिकामा काम गर्न अनुमति दिइएको थियो।’

सीएनएनका अनुसार उनको नाम हमाम अल-हमामी हो। उनी संयुक्त अरब इमिरेट्स यूएईमा ओमानी बुबा र सिरियाली आमाका सन्तानका रूपमा जन्मिएका थिए। उनी ओमान एयरमा ७ वर्ष काम गरेर फेब्रुअरी २०२५ मा बाहिरिएका थिए। त्यसपछि जुन २०२५ मा रोयल एयर मारोकमा जोडिएका उनले जनवरी २०२६ मा यो पनि छाडेका थिए। 

त्यस क्षेत्रका एक कूटनीतिज्ञ रहेका स्रोतले सीएनएनलाई बताएअनुसार उनलाई अतिवादी कट्टरपन्थी सोचका कारण उडान तालिमबाट हटाइएको थियो र ओमानको राष्ट्रिय एयरलाइन्समा अर्को जिम्मेवारी दिइएको थियो।

सीएनएनका अनुसार उनी ओमानको राष्ट्रिय एयरलाइन्सको जागिरबाट बर्खास्त व्यक्ति हुन्। यस विषयमा जानकार दुई स्रोतले उनको चरमपन्थी विचारले सिर्जना गरेको चिन्ताका कारण कामबाट निकालिएको थियो।

इजरायली अधिकारीले सीएनएनलाई बताएअनुसार अल-हमामीले फ्लाई दुबईमा काम गरेको जम्मा आठ महिना मात्र भएको थियो। अर्को एक स्रोतका अनुसार ती आक्रमणकारीले यसअघि रोयल एयर मारोकुमा काम गरेका थिए।

एबीसी न्युजले स्रोतलाई उधृत गर्दै लेखेअनुसार ‘घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरूले अझै पनि सन्दिग्ध आक्रमणकारीले पछि फ्लाई दुबईको लागि उडान गर्ने अनुमति कसरी प्राप्त गरे र उनी इजरायल जाने विमानको ककपिटमा पहिलो अधिकारीका रूपमा कसरी पुगे भनेर पत्ता लगाउने प्रयास गरिरहेका छन्।’

वाल स्ट्रिट जर्नलले पनि लेखेको छ, ‘प्रतिबन्धका बाबजुद उनलाई फ्लाई दुबईमा राखियो। उनलाई यूएई र इजरायल बिचको यो संवेदनशील मार्गमा उडान गर्न अनुमति दिइयो। आक्रमणकारी हमाम अल(हमामी नामका ओमानी नागरिक हुन्। ओमानले उनको कट्टरपन्थबारे आफ्नो चिन्ता अन्य देश  वा एयरलाइन्सलाई भनेको थियो कि थिएन भन्ने कुरा थाहा हुन सकेको छैन। उनको कट्टरपन्थको प्रकृतिबारे पनि जानकारी प्राप्त छैन।’

स्रोतहरूका अनुसार अल(हमामीलाई साउदी अरबबाट बिहीबार यूएई लगिएको छ। 

अनुसन्धानसँग निकट स्रोतले भनेको छ, ‘म घटना अनुसन्धान गर्ने अधिकारीहरूलाई सहयोग गरिरहेको छु। अनुसन्धानले के संकेत गरेको छ भने ती सहपाइलटको मनसाय विमान इजरायलमा दुर्घटना गराउने थियो।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार