सोमवार, आश्विन १२ गते २०८३

बेलायतमा रहेका नागरिकहरूलाई अमेरिकाको नयाँ ट्राभल एड्भाइजरी

सोमवार , आश्विन १२, २०८३

काठमाडौं ।अमेरिकाले बेलायतमा रहेका आफ्ना नागरिकहरूका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ ।

बेलायतको रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्ड वायुसेना बेसनजिकै आतंकवादी कार्यको तयारी गरेको आशंकामा पाँचजना पक्राउ परेपछि लन्डनस्थित अमेरिकी दूतावासले सुरक्षा सतर्कता जारी गरेको हो ।

अमेरिकी दूतावासले आइतबार जारी गरेको सुरक्षा सूचनामा अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन र व्यक्तिगत सुरक्षामा ध्यान दिन आग्रह गरिएको छ । स्थानीय अधिकारीहरूले घटनास्थल आसपासका केही बासिन्दालाई सुरक्षित स्थानमा सारेर उच्च सतर्कताका साथ सुरक्षा जाँच गरिरहेको दूतावासले जनाएको छ ।

बेलायती अधिकारीहरूले देशमा आतंकवादको खतरा ‘गम्भीर’ अर्थात् आक्रमणको सम्भावना उच्च रहेको स्तरमा मूल्यांकन गरेको दूतावासले उल्लेख गरेको छ । अमेरिकी नागरिकलाई अमेरिकी संरचना, सभा तथा संस्थाहरू उच्च जोखिममा हुन सक्ने भन्दै स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

दूतावासले वरपरको अवस्थाप्रति सचेत रहन, व्यक्तिगत सुरक्षा योजनाको समीक्षा गर्न, परिवार तथा साथीहरूलाई आफ्नो सुरक्षाबारे जानकारी गराइराख्न र स्थानीय सञ्चारमाध्यमबाट अद्यावधिक सूचना लिन सुझाव दिएको छ । अमेरिकी विदेश मन्त्रालयको ‘स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम’ ९एसटीईपी० मा दर्ता हुनसमेत आग्रह गरिएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी र बेलायती सुरक्षा बलबीचको संयुक्त कारबाहीको प्रशंसा गरेका थिए । उनले इंग्ल्यान्डस्थित सैन्य वायुसेना अखडानजिकै विस्फोटक पदार्थसम्बन्धी अपराधको आशंकामा पक्राउ परेकाहरू अमेरिकी बन्दरगाहमा ठूलो क्षति पुर्‍याउने योजनामा रहेको दाबी गरेका थिए ।

यस विषयमा प्रतिक्रिया दिँदै बेलायती प्रधानमन्त्री एन्डी बर्नहामले सामाजिक सञ्जाल एक्समार्फत स्थानीय बासिन्दाको चिन्ता स्वाभाविक भएको भन्दै संयम अपनाउन आग्रह गरेका छन् । उनले ग्लुस्टरसायर प्रहरी, काउन्टर टेररिजम पोलिसिङ, सशस्त्र बल तथा आपत्कालीन सेवामा खटिएका कर्मचारीको प्रशंसा गरेका छन् ।

सुरक्षा जाँचका क्रममा घरबाट अन्यत्र सारिएका स्थानीय बासिन्दाप्रति धन्यवाद व्यक्त गर्दै बर्नहामले अनुसन्धान जारी रहेकाले अधिकारीहरूले पूर्ण तथ्य सार्वजनिक नगरेसम्म अनुमान नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार