काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ ।
ललितपुर जिल्लास्थित कान्तिलोकपथ सडकखण्ड अन्तर्गत पाङ्दुरमा पहिरो खस्दा असोज ९ गते बिहान ०६ः३० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बागमती गाउँपालिका वडा नं। ०३ टाकुर्चेमा पहिरो खस्दा असोज ११ गते राति ३ः४० बजे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । हालसम्म पनि उक्त खण्डहरूमा यातायात सञ्चालन हुन सकेको छैन ।
सोलुखुम्बु जिल्ला भित्र पर्ने सिद्धिचरण लोकमार्ग लगायत अन्य भित्री सडकहरूमा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सवारी साधन र पैदल यात्रीहरूको रात्रि आवातजावतमा पूर्ण रूपमा रोक लगाइएको छ ।