काठमाडौं । बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत कार्य सम्पन्न भएको छ । काठमाडौंको बबरमहलमा बुधबार दिउँसो नेपाल बिद्युत् प्राधिकरणले बिद्युत्का तारहरू अन्डर ग्राउन्ड गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत कार्य सम्पन्न भएको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार करिब २० घण्टामा पाइप मर्मतको काम सकिएको हो । उनले अहिले पाइपमा पानी परीक्षणको काम भइरहेको छ । ‘पानी परीक्षणको कार्य भइरहेकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्ने बताएका छन् ।’ बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको थियो । उक्त पाइप फुट्दा बुधबार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो । पाइप फुटेको करिब ४ घण्टापछि पानी रोकिएको थियो ।
प्राधिकरणले उपत्यकामा विद्युत्का तारहरू व्यवस्थित गर्न भन्दै अण्डरग्राउण्डको काम गरिरहेको छ । बिद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानी मन्त्री प्रदीप यादवले बताएका छन् । प्राधिकरणले पनि आफूहरूको गल्तीकै कारण पाइप फुटेको स्वीकार गरिसकेको छ ।