काठमाडौं । लुम्बिनी प्रदेशको आह्वान गरिएको प्रदेशसभा विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वासको प्रस्तावमा छलफल गर्न आह्वान भएको प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको हो ।
हकदैया नपुगेको भन्दै यसअघि पेस भएको अधिवक्ता गणेश घिमिरेको निवेदन दरपिठ भएको थियो ।
लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको दाबीसहित अविश्वासको प्रस्ताव तेस्रो पटक दर्ता गर्दै विशेष अधिवेशन माग गरेका थिए ।
त्यही माग अनुसार प्रदेश प्रमुख अमिक शेरचनले बुधबारका लागि विशेष अधिवेशन आह्वान गरेका छन् ।
सरकारसँगको छलफल र सहमति बिना संविधान विपरीत विशेष अधिवेशन आह्वान भएको भन्दै त्यसलाई रोक्न माग गर्दै लुम्बिनी प्रदेश सभाको एमाले संसदीय दलको तर्फबाट पूर्वमन्त्री एवं एमाले प्रदेश अध्यक्ष लीला गिरीले सोमबार सर्वोच्चमा रिट दर्ता गरेको र त्यसको पेशी मंगलबारका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।