काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला निभाउने प्रयास भइरहेको छ ।
बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको छ । स्थानीय र सुरक्षाकर्मीले हिलो, माटो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर, आगो निभेको छैन । ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नरहरि रेग्मीले बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जानकारी आएको बताएका छन् ।
एक स्थानीयका अनुसार करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको हो । पानी हाल्दा झन बल्ने भएकोले आगो निभाउन समस्या भएको छ । प्रहरीका अनुसार त्यहाँ माघ अन्तिमबाटै बोरिङ खन्न सुरु भएको थियो, आज बिहान करिब साढे नौ बजेतिर आगोको ज्वाला दन्किएपछि काम रोकिएको छ ।
भूमिगत ग्यासको कारण त्यहाँ आगोको ज्वाला निस्किएको अनुमान गरिएको छ । घटनास्थलमा अहिले ललितपुर महानगरको टोली र प्रहरीको टोली पुगेको एसपी रेग्मीले जनाएका छन् ।
आगाको ज्वाला निस्किएको ठाउँ भन्दा स्थानीयका घर केही पर भएकाले खतरा नरहेको प्रहरीले जानकारी दिएका छन् ।