काठमाडौं । एसिड विक्रेतालाई अदालतले सफाइ दिएकोमा चित्त नबुझेको भन्दै धनुषा जिल्ला अदालतमा आपत्ति जनाउन पुगेकी एसिडपीडित आरती साहलाई प्रहरीले पक्राउ गरिएको छ । आरतीले एसिड विक्रेता नागेन्द्र साहलाई अदालतले सफाइ दिएर आफूलाई अन्यायमा पारेको भन्दै आपत्ति जनाएकी छिन् ।
उनी दिउँसो भाइ राजा साहसँगै धनुषा जिल्ला अदालत पुगेकी थिइन् । भाइ राजा साहसँग अदालत पुगेकी आरतीलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखेको छ । आरतीलाई अदालतको मुख्य गेटमै सुरक्षाकर्मीले रोकेको थियो ।
धनुषा प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले भने अदालत परिसरमा गएर होहल्ला गरिरहेकाले आरती र उनको भाइ राजालाई जिल्ला प्रहरी कार्यालय लिएर आएको बताए । जिल्ला अदालत धनुषाका न्यायाधीश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले एसिड प्रहार गरेको आरतीका श्रीमान् सञ्जीवलाई कसुर ठहर गरेको थियो ।
जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगाकुमार मिश्रका अनुसार कसुर ठहर गरिएका सञ्जीवलाई तोकिने कैद सजाय र क्षतिपूर्तिका लागि एक महिनाभित्रमै अर्को फैसला हुनेछ । एसिड विक्रेता नागेन्द्र साहले भने सफाइ पाएका छन् । एसिड विक्रेता नागेन्द्रलाई सफाइ दिएको खबर सुनेपछि आरती काठमाडौंबाट मंगलबार बिहान जनकपुर पुगेकी थिइन् ।