काठमाडौं । आज पनि सुनको भाउले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ । अघिल्लो दिन सामान्य मूल्य घटेको सुन फेरि नयाँ उचाइमा पुगेको हो ।
आज प्रतितोला १२ सय रुपैयाँ बढेर सुनले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८० हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको छ । जुन मूल्य हालसम्मकै उच्च रहेको छ । चार दिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य हिजो प्रतितोला ६ सय रुपैयाँ घटेको थियो ।
हिजो सुनको भाउ प्रतितोला एक लाख ७९ हजार एकसय रुपैयाँ कायम भएको थियो । गएको शुक्रबार पनि सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेर एक लाख ७६ हजार दुईसय रुपैयाँ पुगेको थियो । मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार सातसय रुपैयाँ पुगेको थियो । यो मूल्यलाई माथ गर्दै सुन आज फेरि अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो ।
आज चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलामा दुई हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज भने तोलामा एक हजार नौसय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।