काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालय लगायतले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको छ । मन्त्रालयले विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा खोप केन्द्र र मिति निर्धारण गरी एस्ट्राजेनेका तथा भेरोसेल खोपको पहिलो मात्रा दिन मातहतका निकायलाई निर्देशन दिएको छ ।
काठमाडौंमा प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप लगाउने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले परीक्षामा सामेल हुने विद्यार्थीलाई खोप दिने निर्णय गरेको पनि उनले बताए । साउन २५ गते सत्तारुढ दल निकट पाँच विद्यार्थी संगठनहरुले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोपको व्यवस्था गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए ।
कोरोना संक्रमण वृद्धि भइरहेका बेला त्रिविलगायत विश्वविद्यालय विद्यार्थीलाई भौतिक रूपमै परीक्षा केन्द्रमा उपस्थित गराएर परीक्षा लिइरहेका छन् ।