मंगलवार, आश्विन १३ गते २०८३

ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन किन उत्रिए अमेरिकी जनता ?

आइतवार , चैत्र २३, २०८१

काठमाडौँ । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन भएको छ । ट्रम्पले चालेको आर्थिक, सामाजिक, आप्रवासन र विदेश नीतिको विरोधमा ५० वटै राज्यका १२ सय स्थानमा प्रदर्शन भएको छ । ट्रम्प नीतिको विरोधमा ठाउँठाउँमा र्‍याली निकालिएको हो ।

दोस्रोपटक राष्ट्रपतिको पद सम्हालेपछि ट्रम्पविरुद्ध अमेरिकी जनताले प्रदर्शन गरेको यो पहिलोपटक हो । ’ह्यान्ड्स अफ’ नाम दिइएको प्रदर्शनमा बोस्टन, शिकागो, लस एन्जलस, न्यूयोर्क र वाशिंगटन डीसीलगायतका सहरहरूमा हजारौं मानिसहरू सडकमा निस्किएका छन् ।

’ह्यान्ड्स अफ’ को अर्थ ट्रम्पले जनताको मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने हो । ट्रम्प राष्ट्रपति बनेसँगै आप्रवासीमाथि गरिएको व्यवहार र अधिकांश देशहरूलाई आयात कर लगाएको विषयमा पनि चर्को विरोध भएको छ । आयात कर लगाइएको विरोधमा अमेरिकाबाहिर समेत प्रदर्शन भएका छन् ।

प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मामिलालगायत धेरै विषयमा ट्रम्पको एजेन्डाप्रति असन्तुष्टि व्यक्त गरेका छन्  प्रदर्शनकारीहरूले ‘ह्यान्ड्स अफ क्यानडा’, ‘ह्यान्ड्स अफ ग्रीनल्यान्ड’ र ‘ह्यान्ड्स अफ युक्रेन’ जस्ता नारा लगाएका छन् ।

ट्रम्पले क्यानडा र ग्रीनल्यान्डलाई बारम्बार अमेरिकामा गाभ्ने अभिव्यक्ति दिँदै आएका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने राष्ट्रपति ट्रम्पको कदमहरूको बचाउ गर्दै डेमोक्रयाटिक पक्षलाई खतराको रूपमा प्रस्तुत गरेको छ ।

डेमोक्रयाटिक सांसदहरूको भाषण सुन्न वासिङ्टन डीसीमा हजारौँ प्रदर्शनकारी भेला भएका थिए । भाषणमा ट्रम्प प्रशासनका धनी व्यक्तिहरूको आलोचना गरिएको थियो । जसमध्ये सबैभन्दा प्रमुख नाम राष्ट्रपतिका सल्लाहकार तथा सरकारी खर्च घटाउने विभागको नेतृत्वकर्ता इलोन मस्कको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार