काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढंगले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापन गर्दै त्यसको परिचालन सही रूपमा नगरे अब अप्ठ्यारोमा पर्ने खतरा रहेको बताएका छन् । उनले संविधान निर्माणसँगै जनतामा समृद्धि र विकासको आकंक्षालाई पूरा गर्ने दिशामा सरकार अग्रसर हुने बताएका छन् । सांसदहरूको भूमिका विधि निर्माणसँगै विकास निर्माणमा समेत रहने बताउँदै पौडेलले विकास निर्माण र विधि निर्माणलाई समन्वयात्मक हिसावले अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
उनले भने, ‘अनुशासित ढंगले स्रोत व्यवस्थापन, परिचालन गर्ने ढंगले जान सकेनौं भने हामी अप्ठ्यारोमा पर्छौं । त्यस कारणले मुलुकलाई आर्थिक रूपमा अप्ठ्यारोमा पर्न दिनुहुँदैन । ठीक ढंगले अघि बढ्नुपर्छ भन्ने कुरामा सरकार सचेत छ ।’