काठमाडौं । भारतले नेपालमा रेल सञ्चालन हुन नसक्ने व्यहोराको पत्रसहित चेतावनी दिएको छ । भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडले जयनगर–कुर्था रेल्वे सञ्चालनमा नेपाली पक्षका कारण अनिश्चितता भएको भन्दै सम्झौता रद्द गर्ने चेतावनी दिएको हो ।
बुधबार (हिजो) नेपाली रेल निर्माता कोंकण रेलवेले छिट्टै रेल सञ्चालन नगरे सम्झौता रद्द गर्ने व्यहोराको पत्र नेपाल रेल्वे कम्पनीलाई लेखेको हो । रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले हिँजै राजीनामा दिएका थिए । कोंकणले भट्टराईको राजीनामा आएपछि यस्तो चेतावनी दिएको हो ।
तत्कालीन केपी ओली सरकारले भट्टराईलाई महाप्रबन्धकमा नियुक्त गरेको थियो । त्यसपछि नेपाली कांग्रेस नेतृत्वको सरकारले भट्टराईलाई स्पष्टीकरण सोधेको थियो । तर भट्टराईले आफूलाई स्पष्टीकरण सोध्नुको कुनै अर्थ नभएको र पदबाट हटाउने ’कुचेष्टा’ मात्र भएको पत्रकार सम्मेलन गरी बताएका थिए । साथै उनले आफ्नो व्यक्तिगत सम्बन्धले मात्र नेपालमा रेल सञ्चालन हुन सक्ने र आफू यो पदमा नरहे समस्या आउने बताएका थिए ।

