काठमाडौं । ट्रकले ठक्कर दिँदा पर्सा राष्ट्रिय निकुञ्जको एक हात्ती सख्त घाइते भएको छ । बिहीबार राति ९ बजे पथलैयाबाट हेटौडातर्फ जाँदै गरेको ट्रकले पथलैया–अम्लेखगञ्ज सडक खण्डमा ६५ वर्षीय मेनकाकली नामको हात्तीलाई ठक्कर दिएर घाइते बनाएको हो ।
हात्तीमा सवार माउते पवन सिंहको वीरगञ्जमा उपचार भइरहेको निकुञ्जले जनाएको छ ।
रेडिकलर जडान गरिएको बाघको नियमित अनुगमन गर्ने क्रममा दुईवटा हात्ती निकुञ्जको विस्तारित क्षेत्रमा पुगेर गएर फर्कने क्रममा ट्रकले ठक्कर दिएको निकुञ्जले जनाएको छ ।
हात्ती करिब दुई घण्टापछि बल्लतल्ल उठेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख मनोजजित कुवँरले बताए । ट्रक चालक सञ्जिव लामा र ट्रक निकुञ्जको नियन्त्रणमा रहेको छ ।
मेनकाकली हात्तीको बाह्य चोटपटक देखिए पनि भित्री घाउ पत्ता लगाउन समस्या भएको निकुञ्जले जनाएको छ । हात्तीको एक्स-रे गर्ने पनि समस्या भएको बताइएको छ । निकुञ्जले चितवनबाट पशुचिकित्सक बोलाएर उपचारका गरिरहेको छ ।