काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ९.६२ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६१०.७६ अंकमा झरेको छ ।
बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन आइतबार ९ अर्ब २४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६३ करोडको कारोबार भएको छ । ८६ कम्पनीको मूल्य बढ्दा १५९ को मूल्य घटेको छ भने एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ । नेप्सेका उपसूचकमध्ये सबैमा अत्यन्तै सीमान्त मात्रै तलमाथि भएको छ । सबैभन्दा बढी व्यापार समूहको उपसूचक ५१ अंक (१.१३ प्रतिशत) ले घटेको छ भने फाइनान्स र उत्पादनमूलक समूह पनि करिब १ प्रतिशतले घटेका छन् ।
जम्मा तीन समूह लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमामा सामान्य वृद्धि देखिएको छ । नेपाल माइक्रोइन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स, सिटिजन सुपर ३० म्युचुअल फन्ड, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, मकर जितुमाया सुरी हाइड्रोको कारोबार सकारात्मक सर्किट लागेको छ । त्यस्तै हिमालयन पावर पार्टनरको सेयर भने १० प्रतिशतले घटेको छ ।
सोमबार पनि उच्च कारोबार हुने सबैजसो कम्पनी जलविद्युत् क्षेत्रका नै परेका छन् । ङादी ग्रुप पावर, युनिभर्सल पावर र राधी विद्युत् कम्पनी सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा परेका छन् ।