काठमाडौं । आसन्न चाडपर्व तथा बाढीपहिरोका कारण नागरिक आक्रान्त बनेको अवस्थालाई ध्यानमा राख्दै सरकारले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट भारी मूल्यवृद्धि भएर आए तापनि आम उपभोक्तालाई राहत दिन मूल्य बृद्धि नगरिएको नेपाल आयल निगमले जनाएको छ ।
स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन नगरिँदा नेपाल आयल निगमलाई भने ठूलो आर्थिक धक्का लाग्ने भएको छ ।
निगमका अनुसार हालको खुद्रा बिक्री मूल्य यथावत राख्दा पाक्षिक १५ दिनमा ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ नोक्सानी हुने देखिएको छ । विगत केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उतारचढावपूर्ण बन्दै आएको छ ।
सोही असरका कारण आईओसीले पठाएको नयाँ खरिद मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा प्रतिलिटर २० रुपैयाँ २१ पैसा र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ ९६ पैसा मूल्य बढेर आएको थियो । त्यसैगरी हवाई इन्धनमा प्रतिलिटर १८ रुपैयाँ ६६ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसासम्म भारी वृद्धि भएर आएको थियो ।
तर, भोटेकोशी क्षेत्रमा आएको असाधारण बाढीपहिरोले सिर्जना गरेको विपद् तथा नेपालीहरूको महान् चाडपर्वको मुखमा सर्वसाधारण उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले साविककै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन पोखरा र भैरहवा विमानस्थलका लागि नाफा–घाटा नहुने विन्दु (ब्रेकइभन) मा बिक्री गरिने भएको छ ।
मूल्य यथावत रहेसँगै तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २०० रुपैयाँमै स्थिर रहनेछ ।
त्यस्तै दोस्रो वर्गअन्तर्गतका सुर्खेत र दाङमा पेट्रोल तथा डिजेल प्रतिलिटर १९९ रुपैयाँ र पहिलो वर्गअन्तर्गत पर्ने तराईका प्रमुख सहरहरू चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम रहनेछ ।
यसैगरी, आन्तरिक उडानतर्फको हवाई इन्धन प्रतिलिटर २४९ रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै यथावत रहने निगमले जनाएको छ ।