काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ । आज १४.८७ अंकले घटेको सेयर बजार २६३४.२३ बिन्दुमा झरेर रोकिएको छ ।
कारोबार सुरु भएको ६ मिनेटमै बजार २६६९ अंकसम्म पुगेको थियो । कारोबार समय सकिँदा सो अंक समातेको बजार माथि टिक्न सकेन । बजार घट्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १० अर्ब २० करोडको कारोबार भएकोमा आज ९ अर्ब ६३ करोडको कारोबार भएको छ । ७७ कम्पनीको मूल्य बढ्दा १६८ को घटेको छ भने एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ ।
यस दिन जीवन बीमा सेक्टर सबैभन्दा धेरै ०.९५ प्रतिशतले बढेको छ । यस सेक्टरका अधिकांश कम्पनीले आज सार्वजनिक गरेको वित्तीय विवरण सुधारोन्मुख देखिएको छ । त्यस्तै विकास बैंक ०.८८, उत्पादन ०.३४ प्रतिशतले बढेका छन् । व्यापार सेक्टर सबैभन्दा धेरै २.४६ प्रतिशतले घटेको छ । बैंकिङ ०.३०, फाइनान्स १.९१, होटल तथा पर्यटन २.२१, हाइड्रोपावर १.१८, लगानी ०.७९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.५९, अन्य ०.६० प्रतिशतले घटेका छन् ।
दुई कम्पनी क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशतले बढेको छ । जोशी हाइड्रोपावरको ६.८८, उन्नति सहकार्य लघुवित्तको ५.४४ र लुम्बिनी विकास बैंकको ४.२२ प्रतिशतले बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.२२ प्रतिशतले घटेको छ । बुटवल पावरको मूल्य ४.३१ तथा सिक्लेस हाइड्रोपावरको मूल्य ४.२७ प्रतिशतले घटेको छ ।
धेरै कारोबार भएका कम्पनीमा युनिभर्सल पावर, ङादी ग्रुप, नेपाल माइक्रो इन्स्योरेन्स, सानिमा माइ हाइड्रोपावर र राधि विद्युत् लगातार अगाडि रहेका छन् ।