काठमाडौं । नेपाली बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार गोलभेँडाको मूल्य घटेको हो ।
आज भारतीय ठूलो गोलभेँडाको मूल्य थोकमा प्रतिकिलो १८ रुपैयाँ घटेको छ । बिहीबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको भारतीय ठूलो गोलभेडाँको मूल्य आज ३७ रुपैयाँ कायम भएको छ ।
आज लोकल सानो गोलभेँडा थोकमा प्रतिकिलो ११ रुपैयाँले घटेको छ । लोकल गोलभेँडा किलोको ४१ रुपैयाँ कायम भएको छ । बिहीबार लोकल गोलभेँडा प्रतिकिलो ५२ रुपैयाँमा किनबेच भएको थियो ।
बिहीबार प्रतिकिलो ६५ रुपैयाँ रहेको टनेलको सानो गोलभेँडा आज घटेर किलोको ५० रुपैयाँमा किनबेच भइरहेको छ । उक्त गोलभेँडाको मूल्य प्रतिकिलो १५ रुपैयाँले घटेको हो ।