काठमाडौं । लुम्बिनी प्रदेशका विना विभागीयमन्त्री अजय शाहीले आफूलाई पार्टीको ह्वीप नलाग्ने दाबी गरेका छन् । उनले आफु स्वतन्त्र सांसद भएकाले नेकपा एमालेको ह्वीप नलाग्ने बताएका छन् । शाही नवलपरासी पश्चिम १ (ख) बाट सूर्य चिह्नबाट चुनाव जितेका थिए ।
उनले प्रेस विज्ञप्ति जारी गर्दै एमालेले सोधेको स्पष्टिकरणको जवाफ दिँदे आफू स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित भएको र एमालेको पार्टी सदस्यतासमेत नलिएको बताएका छन् । एमालेले साउन २८ गते पत्र काटेर तीन दिनभित्र आफैं उपस्थित भई स्पष्टीकरण बुझाउन शाहीलाई निर्देशन गरेको थियो ।
एमालेले सोधेको स्पष्टीकरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै शाहीले राजनीतिक दल सम्बन्धी ऐनअनुसार स्वतन्त्र सांसदलाई कुनै पार्टीको ह्वीप नलाग्ने बताएका छन् । बरु आफ्नो दलको सदस्य नै नभएको व्यक्तिलाई स्पष्टीकरण सोध्नु औचित्यहीन र अलोकतान्त्रिक काम भएको भन्दै उनले कार्य क्षेत्र नाघेर एमाले अघि बढ्यो भने कानूनी उपचार खोज्नुपर्ने पनि उल्लेख गरेका छन् ।