काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अफगानिस्तानमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन माग गरेको छ ।
राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त रुपमा विज्ञप्ति जारी गरी त्यँहा रहेका नेपालीलाई सुरक्षित स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन् ।
उनिहरुले तालिवानी विद्रोहीहरूको आक्रमण बढ्दै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएकोले त्यहाँ रहेका नेपालीहरूको सुरक्षाबारे राप्रपा चिन्तित रहेको जनाएका छन् । तर सरकारसंग भने हाल अफगानिस्तामा कति नेपाली नागरिक छन् भन्ने तथ्याङक नै छैन । फगानिस्तानमा हिंसा बढेसँगै विभिन्न मुलुकले त्यहाँ रहेका आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने वा उद्धार गर्ने प्रक्रिया शुरु गरिसकेका छन् ।
भारतले त विशेष विमानद्वारा आफ्ना नागरिक ल्याउने प्रक्रिया शुरु गरिसकेको छ भने अमेरिकाले तत्काल आफ्ना नागरिकलाई अफगानिस्तान छाड्न आग्रह गरेको गरीसकेको छ । तर, अफगानिस्तानमा रहेका आफ्ना नागरिकको अवस्था र उनीहरुलाई आइपर्ने सुरक्षा जोखिमको बारेमा नेपाल सरकार भने बेखबरजस्तो देखिएको छ ।
अफगानिस्तानमा नेपाली दूतावास छैन, नयाँदिल्लीस्थित नेपाली दूतावासले नै त्यहाँको मामिला हेर्छ । अफगानिस्तानमा अहिले कति नेपाली छन् र उनीहरुलाई हुनसक्ने सुरक्षा जोखिमबारे सरकारसँग कुनै जानकारी छैन । न त त्यहाँ कार्यरत नेपालीको अवस्था बुझ्न सरकारले कुनै टोली नै खटाएको छ ।
राप्रपाले तत्कालीन नेपाल सरकार र ब्रिटिश सरकारबीच भएको सम्झौता अनुरूप बेलायती सेनामा रहेर नेपाली नागरिकहरूले काम गर्न थालेको २०० वर्ष नाघिसकेको र बेलायती सेनामा काम गर्ने नेपालीहरूमाथि कायम रहेको भेदभाव तथा असमानता पूर्णरूपमा अन्त्य हुन नसकेकोप्रति समेत ध्यानाकर्षण गराएको छ ।