काठमाडौं । अफगानिस्तानको राजधानी सहर काबुलमा चरमपन्थी संगठन तालिबानका लडाकु प्रवेश गरेका छन् । समाचारमा उल्लेख गरिए अनुसार अहिले सहरको चारैतिरबाट तालिबानका लडाकु प्रवेश गरेको मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
अफगानिस्तानको गृहमन्त्रालयका अधिकारीहरुले तालिबानका लडाकु काबुलमा प्रवेश गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । तर, यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन । तालिबानका एक अधिकारीले आफूहरुले कुनै युद्ध नचाहेको बताएका छन् तर संगठनको तर्फबाट युद्धविरामको घोषणा भने भएको छैन ।
यसअघि तालिबानले आइतबार बिहान जलालबादलाई आफ्नो नियन्त्रणमा लिएको थियो । यसैबीच बीबीसी हिन्दीका अनुसार अहिले अफगानिस्तानी राष्ट्रपति अशरफ घानी, अमेरिकी विशेष दुत जलमे खलिलजाद र नेटोका शिर्ष अधिकारीसंग वार्ता गरीरहेका छन् । तालिवान लडाकु काबुलमा देखिएपछि उनिहरु बैठकमा बसेको समाचारमा जनाइएको छ ।
यहीबीचमा राष्ट्रपति घानीले संक्षिप्त विवरण जारी गरी देश गम्भिर खतरामा रहेको बताएका छन् । साथै उनले अफगास्तिानको सुरक्षा व्यवस्था मजबुत बनाउन र सेनालाई संगठित गर्ने प्रयास भैरहेको भनेको समाचारमा जनाइएको छ ।