काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले धेरैले बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।
बिहीबार ल्याएको बजेटबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अर्थ मन्त्रालयले कार्ययोजनाको काम आजैबाट सुरू गर्ने बताएका छन् । आगामी आवमा पुँजीगत खर्च बढाइएको उनले जानकारी दिएका छन् । त्यसैगरी राजस्व लक्ष्यको १७ प्रतिशत निर्धारण गरिएकोले जसरी पनि लक्ष्य हासिल गरिने उनले दाबी गरेका छन् ।
अर्थमन्त्री पौडेलले भने, ‘आन्तरिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५.३ प्रतिशत उठाउने गरी लक्ष्य राखिएको छ, विकास आयोजनामा वैकल्पिक वित्तबाट गर्ने प्रतिबद्धता गरिएको छ । स्वदेशी र विदेशी लगानीबाट पूर्वाधार निर्माण गरिनेछ ।’
उनले ३ करोडको मापदण्डभित्र रहेर बजेट विनियोजन गरिएको बताएका छन् । उनले भने, ‘३ करोड तलका आयोजना ल्याइएको छैन, आयोजना निर्माणका लागि खरिद प्रक्रियाको लागि साउन १ गते कुर्नु पर्दैन ।’ निजी क्षेत्र उत्साहित हुने गरी बजेट ल्याइएको उनको भनाइ रहेको छ ।
मन्त्री पौडेलले बिहीबार १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन गरेका थिए ।