काठमाडौं । वैदेशिक रोजगार विभागले नेपालीलाई रोजगारीका लागी अफगानिस्तानमा पठाउने म्यानपावर कम्पनीलाई बोलाएको छ । विभागले सम्पूर्ण विवरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।
अफगानको राजधानी काबुलनै तालिबानी लडाकुले कब्जा गर्न थालेपछि अहिले सबैको ध्यान अफगानमै छ । विभिन्न देशहरुले त्यहाँबाट आफ्ना नागरिकलाई उद्धार गरीरहेका छन् । नेपालमा पनि त्यँहा भएका नेपाली नागरिकलाई सुरक्षित रुपमा उद्धार गर्न माग चर्को रुपमा उठिरहेको छ ।
नेपालीको अवस्थाबारे यकीन विवरण जानकारीमा राख्न र उद्धारका लागि पहल गर्न बल्ल आइतबार सरकारले संयन्त्र बनाएको छ । जसअनुसार म्यानपावर कम्पनीलाई विवरण मागिएको छ ।
अफगानिस्तानमा श्रमिक पठाएका म्यानपार कम्पनी सोमबार विवरणसहित उपस्थित भएपछि नेपालीको अवस्थाबारे सोमबारै उनीहरुसंग छलफल हुने समाचारमा जनाइएको छ ।
अफगानमा हाल कति नेपाली छन् भन्ने सरकारसंग एकिन विवरण छैन ।
तर विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीका अनुसार पछिल्लो डेढ वर्षमा करिब १२ सय जना नेपाली वैधानिक रुपमा अफगानिस्तान पुगेको देखिएको छ ।