बिहिवार, आश्विन १५ गते २०८३

अफगानिस्तानमा तालिबान: राष्ट्रपति कार्यालय कब्जा, युद्ध समाप्तीको घोषणा

सोमवार , श्रावण ३२, २०७८

काठमाडौं। तालिवान विद्रोहीले अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा गरेको घोषणा गरेको छ। काबुलमा रहेको राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

राष्ट्रपति अशरफ घानीले देश छोडेलगत्तै तालिबानले राष्ट्रपति कार्यालय कब्जामा लिएको बताइएको हो। राष्ट्रपति कार्यालय कब्जा गरे लगत्तै तालिवानी विद्रोहीले राष्ट्रपति भवनबाटै इस्लामिक एमिरेट्स अफ अफगानिस्तानको घोषणा गर्ने उद्घोष गरेका छन्। 

तालिवानले ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गर्न लागेको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। तालिवानको धम्कीपछि राष्ट्रपति घानी र उपराष्ट्रपति अमरुल्लाह सलेह  देश छाढेका थिए। 

अफगानिस्तानका विभिन्न क्षेत्र कब्जा गरेको तालिवान हिजो काबुल छिरेको हो। यसैबीच अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबान समूहले युद्ध समाप्त भएको घोषणा गरेको छ।

समाचार एजेन्सी अल जजिरालाई दिएको एक अन्तर्वार्तामा तालिबानी प्रवक्ता मोहम्मद नईमले राष्ट्रपति असरफ घानीले मुलुक छोडेसँगै सत्ता शान्तिपूर्ण रुपमा तालिबानीको नियन्त्रणमा आएको र युद्ध समाप्त भएको बताएका हुन्।

साथै उनले अब अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध स्थापित गर्न तालिबान तयार रहेको बताएका छन्।  मोहम्मद नईमले अफगानिस्तानमा अब कस्तो सत्ता चलाउने, कस्तो शासन व्यवस्था हुने भन्नेबारे केही समयमै स्पष्ट रुपमा सार्वजनिक गरिने पनि बताएका छन्।

उनले तालिबानले शरिया कानूनको माध्यमबाट महिला र अल्पसंख्यकको अधिकार र अभिव्यक्ति स्वतन्त्रताका सम्मान गरिने बताएका छन्। उनले तालिबानले कसैको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने नीतिमा रहेको भन्दै अफगानिस्तानका मामिलामा कसैले हस्तक्षेप नगर्न आग्रह गरे।

उनले विदेशी सेनाले फेरि अफगानिस्तानमा आफ्नो असफल अनुभव दोहोर्‍याउला भन्ने आफूहरुले नसोचेको समेत बताएका छन्। तालिबान विद्रोही काबुल प्रवेश गरेपछि हिजो राष्ट्रपति असरफ गानीले देश छोडेका थिए।

तालिबानले मुलुकका अधिकांश प्रान्त नियन्त्रणमा लिएपछि हिजो राजधानी काबुल प्रवेश गरेको थियो। काबुलमा तालिबानले कुनै पनि सशस्त्र युद्ध नगरी सत्ता नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार