काठमाडौँ । २०७७ पुस ५ गते र २०७८ भदौ ३ गतेको घटनाक्रमको बदला प्रधानमन्त्री केपी शर्मा ओलीले चार बर्षपछि लिने भएका छन् ।
आफ्नो विरुद्धमा उभिने कतिपय नेताहरुलाई ओलीले ठेगान लगाउन सकेपनि नेकपा एकीकृत समाजवादीका नेता माधव कुमार नेपाललाई भने ओलीले चार वर्षसम्म केही गर्न सकेनन् । तर, अब ओलीको निशानामा माधव नेपाल परेका छन् । २०७७ पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा त्यसको विरुद्धमा उभिए माधव नेपाल ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछि लागेर माधव नेपालले ओलीमाथि गालि गलौच समेत गरे । र, २०७८ भदौ २ गते नेकपा एमाले फुटाएर आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन गरे । यी दुई घटनाक्रमले गर्दा ओली माधवप्रति निकै आक्रोशित छन् । र, त्यसको बदला ओलीले चार वर्षपछि लिने भएका हुन् । अहिले ओलीको हातमा देश सञ्चालनको शक्ति छ । भने माधव नेपाल शक्ति बिहीन छन् ।
पतञ्जलीले माधवमाथि बदला लिने अवसर मिल्यो ओलीलाई
चार बर्षसम्म प्रधानमन्त्री ओलीले माधव नेपाललाई आफ्नो घर फुटाउने द्रोही बन्नसमेत भ्याए । जब ओली प्रधानमन्त्री बने त्यसपछि माधव नेपालका कमिकमजोरी खोज्न थाले । माधव नेपालको कमजोरी पतञ्जली जग्गामा भेटियो। अनि सुरु गर्यो अख्तियारले अनुसन्धान।
यसैबीच बिहीबार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो । माधव नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।
भ्रष्टाचारको मुद्धा दायर भएसँगै माधव नेपालको सांसद पद पनि निलम्बनमा परेको छ । २०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला नेपाल नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर पतन्जलीलाई हदबन्दी छुटमा जग्गा खरिद गर्न स्वीकृति दिएको थियो । सोही जग्गा विक्री गर्न अनुमति दिने निर्णय पनि नेपाल नेतृत्वकै सरकारले गरेको थियो । आयुर्वेद कम्पनीलाई व्यावसायिक प्रयोजनका लागि दिइएको जग्गामा पतन्जलीले आयुर्वेद कम्पनी चलाएन ।
जग्गा खरिद गरी जग्गा खण्डित गरेर बिक्रीका लागि ‘काष्ठमण्डप बिजनेश होम्स’लाई दिइएको पाइएको छ । प्लटिङ गर्ने व्यवसायीको निजी कम्पनीमा ३५३ रोपनी जग्गा पुगेको पाइएपछि अख्तियारले छानबिन थालेको थियो । प्रधानमन्त्री ओली जसरी भएपनि माधव नेपाललाई जेल हालेरै छाड्ने योजनामा छन् ।
अख्तियार प्रमुख प्रेम कुमार राई पनि एमालेकै हुन् । माधवलाई जेल हाल्ने मौका यो नै उत्तम भएको ओलीको ठहर छ । माधव नेपाललाई जेल हालेर नेकपा एसका अन्य नेतालाई एमालेमा फर्काउने ओलीको रणनीति सफल होला त ? यो प्रश्नको जवाफ समयले नै दिनेछ ।
ओलीले मेरो राजनीति सिध्याउने प्रयास गर्दै छन् : माधव नेपाल
भ्रष्टाचारको मुद्धा लागेपछि माधव नेपालले मुख खोलेका छन् । माधव नेपालले प्रधानमन्त्री ओली सुरुदेखि नै आफूविरुद्ध लागेको दाबी गरेका छन् ।
रौतहटमा सञ्चारकर्मीसँग बोल्दै नेपालले पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि आफूलाई राजनीतिकरूपमा समाप्त पार्ने ओलीको नियत रहेको आरोप लगाए ।
‘सिधा कुरा हो, उहाँ (केपी ओली) मेरो विरुद्धमा सुरुदेखि लाग्नुभएको हो,’ नेपालले भने, ‘मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत छ । पहिले पनि पटक–पटक प्रयास गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्ने व्यक्ति हो ।’
पार्टीको कामका लागि रौतहट पुगेका माधव भ्रष्टाचारको मुद्धा लागे लगत्तै काठमाडौँ आइपुगेका छन् ।