काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विभागको उद्योग अनुमति नवीकरण शाखामा कार्यरत खाद्य अनुसन्धान अधिकृत अधिकारीसहितले चाईना बोर्डरमा रोकिएको सामान आयात गर्न स्वीकृति दिने प्रयोजनको लागि घुस लिएको आरोपमा आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अधिकारीले ह्वाट्एपमार्फत कुरा गरी सामान रोकिएका समूहबाट विभिन्न व्यक्तिहरुको नाममा २८ लाख २० हजार तीन सय ७५ रुपियाँ जम्मा गर्न लगाएको आयोगको अनुसन्धानबाट खुलेको छ ।
यस कार्यमा संलग्न भएको आरोपमा आयोगले अधिकारीसहित वुटवलका बसन्तकुमार बस्याल क्षत्री, कैलालीका शुरेस चौधरी, दोलखाका रश्मिता श्रेष्ठलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
प्रतिवादीलाई फरक फरक बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए ।