काठमाडौं । पोर्चुगल तथा साउदी प्रो लिग क्लब अल नसारका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूले क्लब विश्वकप नखेल्ने घोषणा गरेका छन्।
शनिबार रोनाल्डोले सञ्चारकर्मीहरूसँग आगामी अनुबन्ध र क्लब विश्वकपको बारेमा प्रतिकृया दिँदै क्लब विश्वकप खेल्ने योजना नबनाएको बताए।
‘अन्य क्लबमा अनुबन्धित भएर क्लब विश्वकप खेल्नु असान्दर्भिक हो। अहिले राष्ट्रिय टोलीको कुराबाहेक अरु कुरामा ध्यान दिनु राम्रो हुँदैन। मलाई थुप्रै क्लबहरूले सम्पर्क गरेका छन्,’ रोनाल्डोले भने, ‘तपाई सबै क्लबमा जान सक्नुहुन्न। तपाईले क्रमश क्षणिक, मध्यम र लामो समयको लागि सोच्नुपर्छ। मैले व्यवहारिक पक्षबाट क्लब विश्वकपमा सहभागी हुने सोचेको छैन। तर मलाई थुप्रै क्लबबाट अफर आएको छ।’
विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियान्नी इन्फान्टिनोले क्लब विश्वकपमा रोनाल्डोसँग उनको उपस्थितिका बारेमा वार्ता जारी रहेको बताएपछि चर्चा सुरु भएको थियो।
साउदी प्रो लिग अल नसारका स्पोर्टिङ निर्देशक फर्नान्डो हाइरोले गत महिना उनीसँग सम्झौता नवीकरण गर्न कुरा भइरहेको पनि बताएका थिए।