काठमाडौं । गृह सचिव गोकर्णमणी दुवाडीलाई सात दिने स्पष्टीकरण सोधिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी पठाएको भन्दै सात दिने स्पष्टीकरण सोधिएको हो । यति बेला गृह सचिव दुवाडी हाल विदेशमा रहेका छन् । प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले गृह सचिव दुवाडीलाई लेखेको पत्रमा दरबन्दी बढी कर्मचारी खटाउनको कारण माग गर्दै त्यसको विवरण उपलब्ध गराउन आग्रह गरेका छन् ।
गृह मन्त्रालय अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र केही जिल्ला प्रशासन कार्यालयहरूमा दरबन्दीभन्दा बढी कर्मचारी राखिएको तथा दरबन्दी नभएका स्थानमा काजमा कर्मचारी खटाइएको विषयमा समाचार प्रकाशित भएपछि काजमा खटिएका कर्मचारीको सबै विवरण उपलब्ध गराउन आग्रह समेत गरिएको छ ।
विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी खटिएका कर्मचारीलाई केही दिन अघि फिर्ता गरिएको थियो । भिजिट भिसा दुरुपयोग प्रकरणमा गृह सचिव दुवाडीका विश्वास पात्र मानिएका सहसचिव तीर्थ भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानमा तानेपछि विमानस्थल स्थित अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी खटाइएको पाइएको थियो ।
अख्तियारले सो विषयमा २०८२/०२/१३ मा पत्र लेखी तत्काल छानबिन र कारबाही गर्न निर्देशन दिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृहलाई पत्र पठाएको थियो । निजामती सेवा ऐन, २०४९ को दफा १८(क) को उल्लङ्घन भएको उल्लेख गर्दै काज खटाउने प्रावधानको पालना नगरे तलब-भत्ता र सुविधा काज खटाउने पदाधिकारीबाट असुल हुने र विभागीय कारबाही हुने व्यवस्था सम्झाएको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव कार्कीले गृह सचिव दुवाडीलाई सात दिनभित्र दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत निकाय र ती कर्मचारीको नामसहितको विवरण उपलब्ध गराउन निर्देशन दिएका छन् ।