काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाल विजयी भएको छ ।
आफ्नो डेब्यु खेलमा नै नन्दन यादवले घातक बलिङ गरेपछि नेपाल नेदरल्यान्ड्सविरुद्ध १६ रनले विजयी भएको हो। पहिलो खेलमा पनि नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो। डच टोलीमाथि नेपालको यो दोस्रो जित हो।
स्कटल्यान्डमा नेपालले लिग–२ को चारमध्ये तीन खेलमा जित निकालेको छ। पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको नेपाली टोली दोस्रो खेलमा भने घरेलु टोलीसँग २ रनले पराजित हुन पुगेको थियो।
मंगलबार राति सम्पन्न खेलमा नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४ बलअगावै २ सय २० रन बनाउँदा अलआउट भयो।