काठमाडौं । अघिल्ला दुई दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १३.६९ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६६४.४७ अंकमा झरेको छ ।
बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब १६ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९० करोडको कारोबार भएको छ । ७७ कम्पनीको मूल्य बढ्दा १७० को मूल्य घटेको छ भने एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ । आज हाइड्रोपावर बाहेक सबै सेक्टरका सूचक घटेका छन् । हाइड्रोपावर १.१३ प्रतिशत बढेको छ । अघिल्लो दिन सबैभन्दा धेरै ५ प्रतिशत बढेको फाइनान्स आज १.३१ प्रतिशत घटेको छ ।
त्यस्तै बैंकिङ ०.५१, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.०८, लगानी १.०७, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.६१, माइक्रोफाइनान्स ०.४१, निर्जीवन बीमा ०.७१, अन्य १.५७ र व्यापार समूह ०.९२ प्रतिशतले घटेका छन् । तीन हाइड्रोपावर कम्पनी पियोर इनर्जी, सिनर्जी पावर र बुटवल पावरको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै रिभर फल्स पावरको ७.६४, गुराँस लघुवित्तको ७.१४ तथा श्री इन्भेस्टमेन्ट फाइनान्सको ६.०७ प्रतिशत मूल्य बढेको छ ।
सप्तकोशी विकास बैंकको ४.८३, स्वाभिमान लघुवित्तको ३.९४ तथा बोटलर्स नेपाल बालाजुको मूल्य ३.८९ प्रतिशतले घटेको छ । आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, युनिभर्सल पावर र चिलिमे हाइड्रोपावर रहेका छन् ।