काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आप्रवासीहरुको आन्दोलन झन चर्किएको छ। आप्रवासीमाथि गरिएको धरपकडको विरोधमा अमेरिकामा आप्रवासीहरुले प्रदर्शन गरेका हुन् ।
अमेरिकको क्यालिफोर्निया राज्यको लस एन्जलसबाट सुरु भएको प्रर्दशन न्यूयोर्क सान फ्रान्सिस्को लगायतका शहरमा पुगेको छ । लस एन्जलसमा भएको विरोध प्रदर्शनमा एकबद्धता जनाउँदै न्युयोर्कमा प्रदर्शन सुरु गरिएको हो । न्युयोर्कमा आइसिई कार्यालयकै अगाडि विरोध प्रदर्शन भएको हो ।
उनीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको मात्र विरोध गरेका छैनन्, न्यूयोर्क बाट आइसिई कार्यालय हट्नु पर्ने आवज समेत उठाएका छन । सयौं प्रदर्शनकारीहरूले आप्रवासी राखिएको केन्द्र अगाडि भेला भएर प्रदर्शन गरेका हुन् ।
यता ट्रम्प प्रशासनले भने आन्दोलन चर्किएपछि आप्रवासीहरुलाई पक्राउ गर्ने नीति लागु गरेको छ । सीएनएनका अनुसार पछिल्लो ५ दिन यता चलिरहेको प्रदर्शनमा प्रहरीले आम गिरफ्तारीको नीति लिएको बताएको छ ।
आन्दोलनका क्रममा तोडफोड र लुटपाट बढेपछि लस एन्जलस शहरका मेयर करेन बासले केन्द्रीय क्षेत्रमा रात्रिकालीन कफ्र्यू लागू गरेकी छन् ।
करिब एक वर्ग माइलको क्षेत्रमा लागू गरिएको कफ्र्यू मंगलबार राति ८ बजेबाट शुरू भएको हो । कफ्र्यू लागू भएपछि प्रहरीले भीड हटाउन रबरको गोली चलाएको छ तर, शहरका विभिन्न भागमा भीड अझै बढेको र सशक्त भएको सीएनएनले जनाएको छ ।
मेयर बासले मंगलबार मात्रै २०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेको बताइन् । अघिल्ला दिनमा पनि दर्जनौं पक्राउ परिसकेको प्रहरीले पुष्टि गरेको छ ।
राष्ट्रपति ट्रम्पले गैर कानूनी आप्रवासीविरुद्धको धरपकड गर्ने आदेश दिएपछि यो आन्दोलन शुरू भएको हो । आन्दोलन पछिल्लो समय हिंसात्मक बन्दै गएको छ ।
राष्ट्रपति ट्रम्पले लस एन्जलसमा ४ हजार नेशनल गार्ड र ७ सय मरिन सैनिक पठाएका छन् । आन्दोलन हिंसात्मक बन्न थालेपछि राष्ट्रपति ट्रम्पले सीमा सुरक्षा अधिकारीलाई दैनिक कम्तीमा ३ हजार आप्रवासी पक्राउ गर्ने लक्ष्य दिएका छन् ।
तर, बाक्लो संख्यामा सुरक्षाकर्मी खटाए पनि आन्दोलन रोकिने सम्भावना छैन । आफ्ना माग पुरा नभएसम्म आप्रवासीहरुले आन्दोलन नछाड्ने चेतावनी दिएका छन् । आन्दोलनले उग्र रुप लिन थालेपछि ट्र्रम्प भने यतिबेला तनावमा छन् ।