काठमाडौँ । नेकपा माओवादी केन्द्र भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानविन हुनु पर्ने आफ्नै अडानबाट पछि हटेको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीसँगै मिलेर माओवादीले गृहमन्त्रीमाथि छानबिन गर्न र उनले राजीनामा दिनुको विकल्प नभएको बताउँदै आएको थियो।
तर, माओवादीले रास्वपाको साथ छाड्दै कांग्रेस एमालेसँग हात मिलाएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र आफूसहित विपक्षीले उठाउँदै आएको मूल मुद्दाबाट टाढिएपछि अहिले सदनमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी एकठाउँमा उभिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नै आफ्नो पार्टीको मूल मुद्दा भएको बताएका छन् । शुक्रबार सभामुख घिमिरेले पेलेरै सञ्चालन गरेको प्रतिनिधि सभा बैठकमा उनले अहिलेसम्मको आन्दोलनमा साथ दिएकोमा माओवादी केन्द्रसहितलाई धन्यवाद पनि भने।
उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति र ठगिएकाहरूले न्याय दिन रास्वपाले आन्दोलन जारी राखेको दाबी गरे। सत्ताधारी नेपाली कांग्रेस, नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीचको छलफलपछि रास्वपालाई छोडेर उनीहरूले दुई बुँदे सहमति गरेका माओवादी र एमालेबीच शुक्रबार भिजिट भिसा प्रकरणमा २ बुँदे सहमति भएको थियो। उक्त सहमतिलाई रास्वपा र राप्रपाले अस्वीकार गर्दै शुक्रबार प्रतिनिधिसभा बैठक अवरोध गरेका थिए।
गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने रास्वपा र राप्रपाले बताएका छन् । तर, प्रमुख प्रतिपक्षी दल माओवादी आफूसँग मिलेपछि सत्ता पक्षले रास्वपा र राप्रपालाई सदनमा पलेर अघि बढ्ने योजना बनाएका छन् । अपहरण तथा ब्यक्ति हत्याको आरोप लागेका अग्नि सापकोटालाई जोगाउनको लागि माओवादी र कांग्रेसबीच डिल भएको प्रश्न उठेको छ ।
माओवादीले मानव तस्करीमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नमाग्ने र कांग्रेसले सापकोटाविरुद्धको अनुसन्धान कमजोर बनाउन सरकारलाई दबाद दिने सहमति पछि आफ्नो अडानबाट माओवादी पछि हटेको आरोप लागेको छ ।
यसभन्दा अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानव तस्करीमा मुछिएका गृहमन्त्री लेखकले पदबाट राजीनामा नदिएसम्म आफूहरुले नछाड्ने बताइरहेका थिए । गत बुधबार प्रचण्डले भनेका थिए, ‘माओवादी जनताको हितका लागि मात्र काम गर्छ । मानव तस्करसँग कनेक्सन भएका गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म हामिले कहाँ छाड्छौँ र ?’
तर, प्रचण्डको यो बोली चार घण्टाको अन्तरालमा बुधबार नै फेरिएको थियो । बुधबार साँझ माओवादीका अग्नि सापकोटाको मुटु काप्ने गरि सर्वोच्चको आदेश आयो । सापकोटामाथि काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा प्रहरीमाथि अनुसन्धान गर्न सर्वोच्चले आदेश दियो । यससँगै प्रहरीले चाहेको खण्डमा अग्नि सापकोटालाई पक्राउ गरेर अनुसन्धान गर्न सक्छ ।
सर्वोच्चको आदेश पछि बिहीबार बिहान खुमलटारमा माओवादीको बैठक बस्यो । उक्त बैठकपछि प्रचण्डसहित माओवादी नेताहरुको बोलि फेरियो । गृहमन्त्री लेखकको राजीनामा नमाग्ने र संसद चल्न दिने माओवादी नेताहरुले बताए । बैठकमा यदि गृहमन्त्रीको राजीनामा माग गरे सरकारले सापकोटालाई जेल हाल्ने भएकाले अब कांग्रेससँग मिल्नु पर्ने निष्कर्ष निकालिएको स्रोतको दाबी छ । माओवादीले धोका दिएपछि सदनमा रास्वपा र राप्रपा एक्लिएका छन् ।