काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेसँग संसदमा रास्वपा एक्लै भिडिरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले धोका दिएपछि रास्वपा एक्लिएको छ ।
तर, रास्वपाले मानव तस्कर विरुद्धको लडाइमा हार मानेको छैन । यसैबीच मंगलबार भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको रास्वपाका सांसदहरूले ‘निलो रिबन’ लगाएर विरोध गरेका छन् ।
भिजिट भिसाको आवरणमा मानव तस्करी भएको आरोपको आरोप छ। यही विषयमा छानबिन र संलग्नलाई कारबाही हुनुपर्ने भन्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ । आज पनि प्रतिनिधि सभाको बैठकअघि रास्वपाका सांसदहरूले संसद् भवनअघि सामूहिक फोटो खिचाए । यही सामूहिक तस्बिर राखेर कार्यवाहक अध्यक्ष डिपी अर्यालले फेसबुकमा लेखेका छन्, ‘आन्दोलन जारी छ।’
मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउने भएकाले सबै सांसदले संघीय सदनमा निलो रिबन लगाएर ‘मानव तस्करी’ को विरोध गरेको प्रवक्ता मनिष झाले बताए । नीलो रिबन लगाएर संसद छिरेपछि भने सत्ता रुढ दल नेपाली कांग्रेस आक्रोशित बनेको छ । सत्तारुढ दल नेपाली कांग्रेसले रास्वपाका सांसदहरूले सदनमा अभद्र व्यवहार देखाएको भन्दै निष्कासनसम्मको माग गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक श्याम घिमिरेले यस्तो माग गरेका हुन् । ‘नियमावली ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्नेछन् । र, चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्नेछ भनिएको छ । साथै बैठक कक्षबाट निष्कासन गर्न सक्नेसमेत व्यवस्था नियमको ३१ मा गरिएको छ । सभामुख महोदय १ यस्तो किसिमको व्यवहार गर्नेलाई चेतावनी दिने र संसदबाट निष्कासित गर्ने कारबाही गर्ने आवश्यक छ ।’, उनले भने ।
तर, सत्ता रुढ दलहरुले जस्तो सुकै चेतावनी दिएपनि रास्वपाले भने हार मानेको छैन । गृहमन्त्रीको राजिनामा र छानविन समिति नबनेसम्म रास्वपाले संसद चल्न नदिने अडान कायमै राखेको छ ।
रास्वपा सांसद सोविता गौतमले मानव तस्करीविरुद्ध आवाज उठाउँदा संसदबाट निष्कासन गरे स्वीकार गर्ने बताएकी छिन्। तर, सत्ताको संरक्षणमा नेपाली बेचिएको विषयमा निष्पक्ष उच्चस्तरीय छानबिन समितिको माग पूरा नभएसम्म निरन्तर संसदमा आन्दोलन गरिरहने उनको भनाइ छ।
‘विरोधका आयाम अनेकौँ हुन्छन्, रास्वपा शान्त र सभ्य विरोधमा उभिन्छ,’ उनले भनिन्, ‘आज मानव तस्करीविरुद्धको ऐक्यबद्धतास्वरूप निलो सल लगाएर आएको, नियमापत्ति भएछ। हुन्छ, संसदबाट निकालियोस्।’ रास्वपाले संसदको अवरोध कायमै राखेपछि कांग्रेस भने झस्किएको छ ।
यसैबीच नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक बुधबार (भोलि) बिहान साढे ८ बजे पार्टी मुख्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा रास्वपाको अडानबारे छलफल हुने जनाइएको छ ।