काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टाचार गरेको हुनसक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
मेयर बालेनले फ्रान्सको पेरिसमा भएको ७७ औं कान्स फिल्म फेस्टिभलमा गरेको भ्रमणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको हो । आयोग स्रोतका अनुसार, मेयर र उनका सचिवालयका सदस्यको वैदेशिक भ्रमणका क्रममा भएको खर्चबारे प्रश्न उठाउँदै उजुरी परेपछि यसबारे प्रारम्भिक छानबिन गरिएको थियो ।
त्यसक्रममा थप कैफियत देखिएपछि अनुसन्धान अघि बढाइएको दाबी छ । महालेखा परीक्षकको प्रतिवेदन २०८२ मा समेत काठमाडौं महानगरले भ्रमण खर्च वापत ५२ लाख ५४ हजार ७७ रुपैयाँ बराबर खर्च गरेको देखिएको भन्दै अधिकांश भुक्तानी नियमसंगत नभएको उल्लेख गरेको थियो ।
स्थानीय तहका कर्मचारीहरूको विदेश भ्रमण सम्बन्धी निर्देशिका,२०७५ अनुसार कर्मचारीको विदेश भ्रमणका लागि राजपत्रांकित विशिष्ट श्रेणी र प्रथम श्रेणीबोहक अन्यको हकमा संघीय मामिला तथा प्रशासन मन्त्रालयको सचिवले मनोनयन गर्ने व्यवस्था छ ।
बालेनको प्रमुख नारा मध्येको एक हो- भ्रष्टाचारी नेताहरुलाई ठेगान लगाउनु पर्छ । तर, यीनै बालेनमाथि भ्रष्टाचारको आरोपमा छानविन सुरु भएपछि बालेनका समर्थक आक्रोशित बनेका छन् ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे बालेनले सामाजिक सञ्जालमा कडा स्टाटस लेख्ने गर्छन । बालेनले आफूमाथि नानाथरि आरोप लगाउन थालेपछि प्रधानमन्त्री ओली पनि बालेनमाथि आक्रोशित बनेका छन् । केही समय अगाडि ओली र बालेनबीच वाक भिडन्त भएको थियो ।
बालेनले आफूलाई तनाव दिन थालेपछि ओलीले सार्वजनिक रुपमै बालेनमाथि कडा अभिव्यक्ति दिन थालेका छन् । प्रधानमन्त्रीको एउटा छुट्टै शैली छ । त्यो शैली भनेको ओलीले आफ्ना विरोधीलाई ठेगान लगाएर छाड्छन् । त्यसको उदाहरण हुन् डा. भीम रावल, माधव नेपाल, रवि लामिछाने लगायतका नेताहरु ।
अब प्रधानमन्त्री ओलीको निसानामा मेयर बालेन शाह परेको अनुमान गरिएको छ । बालेनका समर्थकले प्रधानमन्त्री ओलीको षडयन्त्रमा बालेनलाई जेल हाल्ने योजना भइरहेको आरोप लगाएका छन् । किन की अख्तियारका प्रमुख प्रेम कुमार राई एमाले निकट हुन् । त्यसकारण अख्तियारमा पनि ओलीको प्रभाव देखिन्छ । आफूमाथि छानबिन सुरु भएदेखि बालेन मौन छन् ।