काठमाडौं । पूर्वी चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणका आरोपी सुकदेव भण्डारी कारागार चलान भएका छन् । आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले सोमबार ५० हजार रुपैयाँ धरौटी लिएर आरोपी सुकदेव भण्डारीलाई छाड्न आदेश दिएको थियो । तर उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका हुन् ।
न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले थुनछेक बहसपछि आरोपी सुकदेव भण्डारीसँग ५० हजार धरौटी माग गरेको हो । मृतक सुजिताको ठूलो बुबाका छोरा सुकदेवविरुद्ध आइतबार चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दायर भएको थियो ।
आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा साउन ६ गते किटानी जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्टै प्रहरीले सुकदेवलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।
असार ११ गते घरबाट निस्किएकी सुजिताको शव असार २० गते नजिकैको जंगलमा फेला परेको थियो । मृतक सुजिता र आरोपी सुकदेवबीच प्रेम सम्बन्ध रहेको र विहे गर्न अश्विकार गरेका कारण सुजिताले आत्महत्या गरेको भन्दै प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेको थियो ।