काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका दोस्रो तहका नेताहरू ‘गोप्य’ छलफलमा जुटेका छन् ।
प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग छाडेर सहमतिमा आएको केही दिन बित्न नपाउँदै कांग्रेस र माओवादीका दोस्रो तहका नेताहरू ‘गोप्य’ छलफलमा जुटेका हुन् ।
संसद् भवनको शंकर हलमा बिहीबार भएको गोप्य छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी भएका थिए भने माओवादीको तर्फबाट उपमहासचिव वर्षमान पुन र शक्तिबहादुर बस्नेत सहभागी भएका हुन् । गोप्य वार्तामा जुटेका नेताहरू पार्टीभित्र सभापति शेरबहादुर देउवा र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् ।
माओवादी गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पछि हटेसँगै कांग्रेस र माओवादीका नेताहरु भेटवार्तामा जुटेपछि सत्ता फेरबदलको लागि कसरत भइरहेको चर्चा हुन थालेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जसरी भएपनि ओली नेतृत्वको सरकार ढाल्न चाहन्छन् । प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई माओवादीको समर्थनमा प्रधानमन्त्री बन्नको लागि पटक पटक प्रस्ताव गरेका छन् ।
तर, अहिलेसम्म प्रचण्डले गरेको प्रस्तावलाई देउवाले अस्वीकार गरेका छन् । फेरि प्रचण्डले गृहमन्त्रीको राजीनामाबाट पछि हटेको निहुँमा सत्तामा जानको लागि नेपाली कांग्रेसलाई फकाउने प्रयास गरिरहेका छन् । उता प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट हैरान भएका कांग्रेसका नेताहरु पनि सरकार फेरबदल गर्ने निष्कर्षमा पुगेर माओवादीसँग संवादमा जुटेका छन् ।
पहिला दोस्रो तहका नेताहरुबीच सहमति जुटाउने र त्यसपछि शीर्ष नेताहरुसँग सरकार फेरबदलको प्रस्ताव राख्ने कांग्रेस माओवादीका दोस्रो तहका नेताहरुको रणनीति हो ।