काठमाडौं । नेपालमा ओमिक्रोनको पाँचवटा नयाँ सब भेरिएन्ट पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ परीक्षण गर्दा नेपालमा ओमिक्रोनका विभिन्न सवभेरिएन्ट पुष्टि भएको हो ।
जेठ २२ देखि २९ गतेसम्म कोरोना पुष्टि भएका १४ वटा नमुनाको जिन सिक्वेसिङ गर्दा ओमिक्रोनका विभिन्न सब भेरिएन्ट पुष्टि भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै प्रदेशमा ओमिक्रोन देखिएका १४ वटा नमुनामा परीक्षण गर्दा ओमिक्रोनको ५ वटा नयाँ सब भेरियन्ट देखिएको बताएका छन् । अहिले भेटिएका सब भेरियन्टहरु संक्रामक भएको तर कम घातक भएको उनको भनाइ छ ।
पुष्टि हुनेमा सात वटा लिनेज एक्सएफजी, तीन वटामा एक्सएफजी, एउटामा एक्सएफजी ३.१ र दुई वटामा जेएन १ भेटिएको छ । ओमिक्रोनको सब भेरिएन्ट कोभिड १९ गराउने सार्स कोभ २ भाइरसको ओमिक्रोनको विकसित रुप हुन् । भाइरस लगातार अनुवंशिक रुपमा परिवर्तन (म्युटेट)भइरहन्छ । परिवर्तन भएर आएका भेरिएन्टले छुट्टै विशेषता देखाउने गर्छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुस महिनादेखि २५ जिल्लामा १ सय ६७ कोरोना भाइरसका पुष्टि भएको छ।कोरोना सङ्क्रमण सबैभन्दा बढी बागमतीमा १ सय ३१, कोशीमा ४, मधेसमा ५, गण्डकीमा ३ र सुदूरपश्चिम प्रदेशमा २१ जनामा देखिएको छ ।