बुधवार, आश्विन १४ गते २०८३

विष्णुमतीको बाढीले कार बगायो, एक महिलाको उद्धार

बिहिवार , आषाढ १२, २०८२

काठमाडौँ । काठमाडौँको टोखामा ग्राण्डी अस्पताल नजिकैको सडकबाट खोलामा खसेको कारलाई विष्णुमतीको बाढीले बगाएको छ । गएराति ग्राण्डिबाट बानियाटारसम्म करिब डेढ किलोमिटर कार बगेको हो ।

कारबाट प्रहरीले एकजना महिलालाई सकुशल उद्धार गरेको छ । बागमती प्रदेश ०१–०३१ च ६१४१ नम्बरको ईभी कारबाट दाङ घर भएका टोखा बस्ने ३४ वर्षीया भावना वलीको उद्धार गरिएको छ ।

कारले नम्बर नखुलेको भाडा कारलाई साइड दिने क्रममा माटोमा भासिएर खोलामा खसेको थियो । उद्धार गरिएकी महिलाको ग्रिनसिटी अस्पतालमा उपचार हुँदै छ ।

कार कञ्चनपुर घर भएर धुम्बाराही बस्ने ३५ वर्षीय अङ्कुश सिंहले चलाएका थिए । चालक आफैँ कारबाट बाहिर निस्केका थिए ।

ग्राण्डी हस्पिटल नजिकबाट खोलाले बगाएको कारभित्र रहेकी दाङ तुलसीपुर घर भई हाल टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई बानियाटार पुल नजिकबाट नेपाल प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका हुन् ।

गाडी भित्र रहेकी ओली गाडीसहित बगिरहेको देखेपछि प्रहरीले पछ्याएको थियो । सो कार बग्दै बानियाटार पुलमा आएर अड्किएपछि ३ प्रहरी र २ स्थानीय गरी जम्मा पाँच जनाले उद्धार गरेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

उद्धार कार्यमा प्रहरी हबल्दार उमेश कुमार लोहनी, प्रहरी सहायक हबल्दार समिर विक, प्रहरी जवान सुमन थापा, लम्जुङ घर भई टोखा बस्ने १९ वर्षीय अर्जुन गुरुङ र २९ वर्षीय राजु तामाङ संलग्न थिए । अर्जुनको खुट्टामा र राजुको हातमा सामान्य चोट लागेको छ ।

उद्धार कार्यमा प्रहरी नायव उपरीक्षक निरन्जन थापाको कमाण्डमा २० जना र विपद व्यवस्थापन प्रहरी कार्यालयबाट २५ जनाको टोली पनि परिचालित भएको थियो ।

खोलामा बगेको कारलाई राति पौने १२ बजेतिर क्रेनको सहायताले बाहिर निकालिएको थियो । सो कारलाई प्रहरी प्रभाग नयाँ बसपार्कमा राखिएको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार