आइतवार, श्रावण २४ गते २०८३

वारपारको लडाईँ : एमालेको भावि अध्यक्ष ओली कि विद्या ?

आइतवार , आषाढ १५, २०८२

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वारपारको लडाईँमा उत्रिएका छन् ।

दुई कार्यकाल देशको सर्वोच्च पद समालेकी पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष ओलीका लागि भारि बनेकी छन् । भण्डारीलाई राष्ट्रपति बनाउनमा ओलीकै हात थियो । आफैले राष्ट्रिपति बनाएकी भण्डारी अहिले आफ्नो विरुद्धमा लाग्न थालेपछि ओली आक्रोशित छन् । 

भण्डारीले आगामी वर्ष हुने एमालेको ११औँ महाधिवेशनमा अध्यक्षको दाबेदार, ०८४ को संघीय निर्वाचनमा सांसद उम्मेदवार र भावी प्रधानमन्त्रीको दौडमा प्रवेश गर्ने ढोका खुला गरेकी छिन् । शनिबार मदन भण्डारीको ७४औँ जन्मदिनका अवसरमा सार्वजनिक कार्यक्रममार्फत सक्रिय राजनीतिमा फर्केको घोषणा गरेर पूर्वराष्ट्रपतिबाट एमाले नेतृ बनेकी उनले बहुपक्षीय सन्देश प्रवाह गरेकी हुन् ।

मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय सभागृहमा शनिबार गरेको कार्यक्रममा भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको र एमाले परिवारको एक सदस्यका रूपमा आफूलाई गर्व लागेकी बताइन् ।

भण्डारी सक्रिय राजनीतिमा फर्किएपछि ओली आक्रोशित बनेका छन् । उनले भण्डारीको कुरा समेत सुन्न मानिरहेका छैनन् । तीन जना वक्ता रहेको कार्यक्रममा प्रमुख अतिथि भए पनि ओली सुरुमै बोलेर हिँडेका थिए । भण्डारीले ओलीलाई आफ्ना कुरा सुनेर जान आग्रह गरेकी थिइन । तर, ओलीले भण्डारीले कुरा सुन्न चाहेनन् ।

उनले भनेका थिए, ‘सम्माननीय पूर्वराष्ट्रपतीजीले मेरा पनि कुरा सुन्नुस् न भन्दै हुनुहुन्थ्यो । तपाईं राम्रो बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदै छ । आज मात्रै सुन्नुपर्ने होइन, उहिल्यैदेखि सुन्दै आएको हो । ईश्वर कमरेड बोल्नुहुन्छ, उहाँले नराम्रो कहिल्यै बोल्दै बोल्नुहुन्न । राम्रो बोल्नुहुन्छ । त्यो भएर मलाई थाहा छ के बोल्नुहुन्छ । मैले सुन्न बसिरहनुपर्दैन’

ओलीले भण्डारी अफ्नो विरुद्धमा उभिए ठेगान लगाउने चेतावनी समेत दिएका छन् । भण्डारी सक्रिय राजनीतिमा आएसँगै एमालेमा भण्डारी गुट र ओली गुट गरि दुई गुटमा नेताहरु लागेका छन् । ओलीको कार्यशैलीप्रति असन्तुष्टहरुले ओलीलाई एमालेबाट बाइपास गर्ने तयारी गरेका छन् । यससँगै अब एमालेको भावि अध्यक्ष ओली कि विद्या ?  भन्ने बहस पनि सुरु भएको छ । 

भण्डारीको उद्घोषले एमालेको आगामी महाधिवेशनमा ओलीलाई चुनौती दिन विद्याको आगमन भएको प्रस्टै देखिएको छ। एमालेले यसपटक महाधिवेशन चाँडै गर्दै छ। २०८३ को वैशाखसम्म महाधिवेशन गरिसक्ने एमालेको तयारी छ । 

नेतृत्व चयनका लागि हुने महाधिवेशनभन्दा अगाडि विधान महाधिवेशन हुँदै छ। आउँदो भदौ २०-२२ मा विधान महाधिवेशन तोकिएको छ। विधान महाधिवेशनको ६ महिनाभित्र नेतृत्व चयन गर्ने महाधिवेशन गरिसक्ने एमालेको योजना छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहेकै बेला महाधिवेशन गरेर तेस्रो कार्यकालका लागि अध्यक्षमा नवीकृत भइहाल्ने योजना बनाएका छन्।

उनले आफ्ना लागि ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा पनि नलाग्ने तारतम्य मिलाएका छन्।  यता पूर्वराष्ट्रपति भण्डारीले पनि महाधिवेशनमा अध्यक्षका लागि भिड्ने तयारी गरिरहेकी छन् । अहिलेको परिस्थितिलाई नियालेर हेर्दा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि ओलीसँग भण्डारी भिड्ने पक्कापक्की छ । तर, राजनीति हो-भोलिको दिनमा के हुन्छ त्यो समयले नै बताउनेछ । 

प्रतिक्रिया
सम्बन्धित समाचार