काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक निर्धारित समयमा बजेट ल्याउन सकेको छैन । कानून अनुसार असार १० भित्र स्थानीय तहहरुले बजेट ल्याउनुपर्ने हुन्छ ।
देशभरका आधिकांश स्थानीय तहले बजेट ल्याउँदा देशको सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौं महानगर भने बजेट ल्याउनबाट चुकेको छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको टकरावको कारण ऐनको मितिभित्र बजेट आउन नसकेको हो । बजेट ल्याउन बालेनले बैठक समेत बोलाएका छैनन् ।
भ्रष्टाचारको आरोप लागेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई विदामा बस्नु पर्ने या त उनको सरुवा भए मात्र बैठक बोलाउने मेयर बालेनको अडान छ । उपमेयर सुनिता डंगोलले अधिकृत गुरागाईँको पक्षमा छिन् । तर, विवादले भने नयाँ मोड लिएको छ । उपमेयर र गुरागाईँलाई साथ दिदैँ आएका कांग्रेस र एमालेबाट निर्वाचित वडाअध्यक्षहरु अब बालेनको कित्तामा उभिन थालेका छन् ।
रास्वपाबाट निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठ बाहेक अन्य कार्यपालिका सदस्यहरूले नै प्रमुख प्रशासकीय अधिकृत गुरागाँईलाई पुनः बहाली गर्न सक्रिय भूमिका खेलेका थिए । उक्त समयमा काठमाडौँ १७ का वडाध्यक्ष समेत रहेका महानगर प्रवक्ता नवीन मानन्धर नेतृत्वदायी भूमिका थिए । तर, अहिले मानन्धर बालेनको कित्तामा उभिएका हुन् । उनीसँगै अन्य केही वडाअध्यक्षहरु पनि बोलनको कित्तामा उभिएका छन् ।
बालेन अहिले पनि प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ बिदामा बस्न वा सरुवा गर्न दबाब सिर्जना गरिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत बिदामा बस्नुपर्ने माग गर्दै आएका बालेनका पक्षमा प्रवक्ता मानन्धरसहित केही वडाअध्यक्ष खुलेका हुन् । अब वडाअध्यक्षहरु आफ्नो पक्षमा उभिएपछि बालेन आफ्नो अडानमा थप बलियो बनेका छन् । जबसम्म प्रमुख प्रशासकीय अधिकृत बिदामा बस्दैँनन् त्यसबेलासम्म काठमाडौँ महानगरपालिकाको बजेट सार्वजनिक नहुने देखिन्छ ।