काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका थप ९० जना नेपाली आज नेपाल आउदै छन्।
त्यहाँबाट उद्धार गरेर कतारमा राखिएका थप ९० जनालाई कतार एयरवेजको विमानबाट आज विहान सवा ९ बजे आउने नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। अफगानिस्तानबाट कुवेत पुगेका केहि नेपाली आउने भनिए पनि उनीहरुको पिसिआर परिक्षण हुन नसकेकाले कुवेतमै रोकिएको उनले बताए।
गएराति थप ८७ जना नेपाली नागरिक स्वदेश फर्किएका छन्। मंगलबार बिहान जजिरा एयरलाइन्सको विमानले १ सय १८ जना नेपाली नागरिक र ९ जना भारतीयलाई ल्याएको थियो। छिमेकी राष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा नेपाली नागरिक काठमाडौँ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल आइपुगेकालाई आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा सामाखुशिस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ।
मन्त्रालयका अनुसार मंगलबार साँझसम्ममा कन्सुलर सेवा विभागको वेबसाइडमा २ सय ५६ नेपालीले आफ्नो विवरण दर्ता गरेका छन्।