आइतवार, श्रावण २४ गते २०८३

बम विस्फोटका घाइते गौरीशंकरको बेदना : आलमले मलाई जतिबेला पनि मार्नसक्छ

आइतवार , आषाढ २२, २०८२

काठमाडौँ । जिउँदै मान्छेलाई इटा भट्टामा हालेर मारेको पुष्टि भइ जिल्ला अदालको आदेश अनुसार जन्म कैदको सजाय भोगिरहेका अफताब आलमलाई वीरगञ्ज जिल्ला अदालतले सफाइ दिएपछि पीडितहरु त्रसित बनेका छन् ।

पीडित मध्येका एक हुन्- गौरीशंकर राम चमार । उनी न्याय खोज्न काठमाडौँ आइपुगेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आलमलाई सफाइ दिने उच्च अदालतको फैसला त्रुटीपूर्ण रहेको भन्दै न्यायको लागि अपिल गरेका हुन्।

भारतको बिहार, सीतामढी घर भएका चमारले आलमको इँटाभट्टामा काम गर्दा उक्त घटनाको साक्षी बन्न पुगेको बताएका छन् । पत्रकार सम्मेलनमा आफ्नो शरीरमा लागेको बमको चोट र पोलेको घाउ देखाउँदै उनले घटनाको विवरण सुनाए।

उनको अनुहारदेखि छाती, हातपाखुरासम्म डढेका छन्। दुवैतिरका कान चुँडिएका छन्। सहजरूपमा हेर्न पनि नसकिने उनको यस्तो अवस्था हेर्न नसकिने छ ।  उनी भन्छन् ‘ मेरो शरिर बम विष्फोटमा परेर यस्तो भयो। तर, न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले भनेको छ( कहाँ बम पड्किनु? स्टोभ पड्केको हुनुपर्छ।’

घटना २०६४ चैत २७ गतेको हो। बेलुकी अन्दाजी ६ः३० बजे रौतहटको राजपुर फरहदवास्थित शेख इद्रिशको गाईवस्तु बाँध्ने गोठघर अगाडि आइपुग्दा धेरै मानिसहरू थिए। सो गोठघरभित्र १५/१६ जना मानिस बसेर कुरा गर्दै थिए। गोठघरको ढोका खुला थियो।

अचानक बम विष्फोट भएको ठूलो आवाज आयो। बमका टुक्रा, छर्राहरूले उनका दुवै कान, घाँटी, छाती समेतमा गम्भीर घाउचोट बनाए। रगत बग्न थाल्यो। विष्फोटनमा परी २ ३ जना मानिसको मृत्यु नै भयो। अरू धेरै जना घाइते भई जोरले रुनकराउन थाले।

बम विष्फोटकै कारण उनका दुवै कान चुँडिए। घाँटी र छाती समेतमा बमका छर्रा लागे। तात्तातो घाउ लिएर उनी त्यहाँबाट भागे। करिब ७०० मिटरसम्मको दूरीमा दक्षिण आइसकेपछि उनी भाग्न नसक्ने भए। जमिनमा लडे।

त्यसपश्चात् १५÷२० दिनपछि होसमा आउँदा उनी भारतको बिहार राज्यमा पर्ने सीतामढीस्थित सदर अस्पतालको शय्यामा उनको होस खुल्छ, जतिखेर उनको पिसाब नली, नाकर मलद्वार समेतमा पाइप लगाएको थियो। अनुहार, घाँटी र छातीमा पट्टी बाँधिएको थियो। र, त्यहाँ उनको उपचार भएपछि बाच्न सफल भए । 

२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटमा नेपाली कांग्रेसका उम्मेदवार अफताब आलमका काकाको घरमा बम विस्फोट भएको थियो।

निर्वाचन प्रभावित पार्न बनाउँदै गरेको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई घटनाको प्रमाण नष्ट गर्न जिउँदै नजिकैको इँटाभट्टामा पोलेर मारेको आलममाथि आरोप लागेको थियो।

लामो समयसम्म अनुसन्धान हुन नसकेको यो घटनामा प्रहरीले प्रमाण जुटाएर अभियोजन गरेपछि जिल्ला अदालतले आलमलाई दोषी ठहर गरेको थियो। तर, हालै उच्च अदालत वीरगञ्जले जिल्ला अदालतको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको छ।फैसलापछि पीडितहरूले न्याय मरेको देश भन्दै गुनासो पोखिरहेका छन् । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार