आइतवार, श्रावण २४ गते २०८३

पहिलो पटक झुक्न बाध्य भए बालेन शाह, यस्तो छ कारण

बिहिवार , आषाढ २६, २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पहिलो पटक झुकेका छन् । बालेनको अडान थियो– प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ भ्रष्टाचारमा संलग्न छन् । उनलाई महानगरबाट विदा नगरेसम्म बजेट ल्याउन बैठक बोलाउदैँन ।

बालेनले अधिकृत गुरागाईँलाई महानगरबाट बाइपास पनि गरेका थिए । तर, उपमेयर सुनिता डंगोल र वडाअध्यक्षहरु मिलेर गुरागाईँलाई जबरजस्ती महागरभित्र प्रवेश गराइ हाजिर गराएका थिए । त्यसपछि पनि बालेनले बजेट ल्याउन बोलाइने बैठकमा उनी नआउनु पर्ने शर्त राखे । उनको उक्त शर्त उपमेयर र वडाअध्यक्षहरुले मानेनन् । तर, पनि बालेनले बजेट ल्याउन मानेका थिएनन् ।

स्थानीय तहहरूले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था भएता पनि काठमाडौँ महानगरपालिकाले बजेट ल्याएन । तर, कांग्रेस एमालेबाट निर्वाचित वडाअध्यक्ष र उपमेयर सुनिता गुरागाईँको पक्षमा उभिएपछि महानगर बजेट शुन्यतामा जानु भन्दा झुकेकै राम्रो भन्ने सोचले बालेन पहिलो पटक झुकेको चर्चा हुन थालेको छ ।  मेयर बालेनले महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार २ दिउँसो बजे बस्ने गरि बोलाएका छन् ।

यससँगै ७ महिनाभन्दा बढी समययता बस्न नसकेको कार्यपालिका अब बस्ने निश्चित भएको हो ।  प्रत्येक महिना हुनुपर्ने महानगरको कार्यपालिका बैठक नबसेको शुक्रबार १९४  दिन पुग्दैछ । पछिल्लो पटक पुस १४ गते महानगरको १६औँ नगर सभा बसेको थियो । अब शुक्रबार बस्ने बैठकले बजेट ल्याउनको लागि प्रक्रिया अगाडि बढाउनेछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट नगर सभाले पास गर्न नसके ‘बजेट होली डे’को हुनेछ ।

तर, बालेनले बजेट होल्ड हुनबाट जोगाउनको लागि आफू झुक्न बाध्य भएका हुन् । कानुनी बाध्यताले गाँजेपछि मेयर बालेन बाध्य भएर कार्यपालिका बैठक बोलाउनु पर्ने अवस्थामा पुगेको महानगरका एक जनप्रतिनिधिले टिप्पणी गरेका छन् ।   यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसँगको विवादकै कारण बालेनले कार्यपालिका बोलाएका थिएनन् ।

अहिले पनि सरोज नै प्रमुख प्रशासकीय अधिृकत हुन् । सुरुमा उनलाई हटाएर मात्रै कार्यापालिका बोलाउने अडानमा रहेका बालेन अहिले भने उनी भएकै अवस्थामा बैठक बोलाउने अवस्थामा पुगेका हुन् । 

यससँगै शुक्रबार नै ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्ने छ । त्यसपछि उपप्रमुख नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । कानुनी औपचारिकता पूरा भए २ बजेको कार्यपालिका बैठकले नै नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्ने छ । सोही कार्यपालिकाले नगर सभाको मिति तोक्ने छ भने असार मसान्त भित्रै बजेट पास गर्ने तयारी रहेको जनाइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार