काठमाडौं । बेलायती सरह सेवा सुविधाको माग राखी आमरण अनशनरत गोर्खा सैनिकहरुको मागमा विभिन्न १२ जातिय संगठनले एक्यवद्धता जनाएका छन् । बेलायती गोर्खा सैनिकहरुले सुरु गरेको आमरण अनशनप्रति आदिवासी जनजाति समुदायका विभिन्न १२ संगठनले ऐक्यवद्धता जनाएका हुन् ।
संघर्ष समितिका अभियानकर्ता ज्ञानराज राई, धन गुरुङ र महिला पुष्प राना घले बेलायतमा अनशनरत छन् । उनीहरुको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको अवस्थाप्रति बेलायत र नेपाल सरकार गम्भीर भएर निकास नदिनुले लोकतान्त्रिक सामाजिक न्यायको उपेक्षा गरेको पनि ती संगठनहरुले बताएका छन् ।
गोर्खा सैनिकको शान्तिपूर्ण आन्दोलनको दुई हप्ता बितिसक्दा पनि बेलायत सरकार मौन रहनु र नेपाल सरकारले समेत कुनै प्रकारको पहल कदमी नगरिनु दुखद भएको बताएका छन् । संगठनहरुले बेलायत सरकारको लापरवाही र हेलचेक्र्याइका कारण वर्षौदेखि थाँती रहेको गोरखा भूतपूर्व सैनिकहरुको मुद्दालाई समाधान गर्न नेपाल सरकारसँग कूटनैतिक रुपले संवाद गरिदिन आग्रह समेत गरेको छ ।
साथै सरकारले उक्त कूटनीतिक पहल नगरे आदिवासी जनजातिहरुको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघसहितका संस्थाहरुले कूटनीतिक पहलमार्फत गोर्खाहरुको समस्या समाधान नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
एक्यवद्धता जनाउने संस्थाहरुमा नेपाल आदिवासी जनजाति महासंघ, तमु ह्यु ल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, नेपाल छन्त्याल संघ, नेपाल तामाङ घेदुङ, थकाली सेवा समिति, दुरा सेवा समाज, नेपाल मघर संघ, किरात राई यायोक्खा, किरात याक्थुङम्लुङ, किरात याक्खा छुम्मा, नेपाल शेर्पा संघ र सुनुवार सेवा समाज रहेका छन् ।