काठमाडौं । सांसद पद खारेजी रोक्न माग गर्दै नेकपा एमालेका १४ सांसदले संसद सचिवालयमा निवेदन दर्ता गरेका छन् उनहिरुले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र दर्ता गराएका थिए । उनीहरुले दलको ह्वीप उल्लंघन गरेकाले कारबाही गरिएको पत्रमा उल्लेख छ ।
१४ सांसदले आफूहरुमाथि गरिएको कारबाहीमाथि नै प्रश्न उठाएका छन् ।
२७ वैशाखमा तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा संसदीय दलले ह्वीप नै नलगाएको र ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएको आधारमा कारबाही गर्नु सर्वोच्च अदालतको फैसला विपरीत भएको बताएका छन् । १४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठले संसद सचिवालयमा निवेदन दर्ता गरेको जनाइएको छ ।

