काठमाडौँ । के तपाईहरुलाई यो देशमा सरकार छ ? भन्ने लागेको छ, या सरकार नभएको महशुस गर्नुभएको छ ? अधिकांशलाई सरकार छैन भन्ने लागेपनि यो देशमा बलियो सरकार छ । त्यो सरकारले एक वर्ष पुरा पनि गरेको छ । २०८१ असार १७ गतेको मध्यरातमा कांग्रेस एमालेले सरकार चलाउने सहमति गरे ।
उक्त सहमति अनुसार २०८१ असार ३० गते कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने । प्रधानमन्त्री ओलीले एक वर्ष पार गरेका छन् । तर, जुन उदेश्यले फरक धारका कांग्रेस एमालेले सरकार बनाए त्यो उदेश्य पुरा गरेनन् । र, उदेश्य पुरा गर्ने प्रयास पनि गरेनन् ।
सरकार गठन गर्दा कांग्रेस एमालेले भनेका थिए-संविधान संशोधन, सुशासन, भ्रष्टाचार नियन्त्रण गर्नेछौँ । तर, संविधान संशोधन गर्ने विषय सायद कांग्रेस एमालले बिर्सिसकेका छन् । अब रह्यो सुशासन र भ्रष्टाचारको विषय । ओली सरकार भित्रै घुसखोरी मन्त्री रहेको संञ्चार माध्यममा आइरहेको छ ।
तर, प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेर राखेको आरोप लागेको छ । बाहिर भने ओलीले सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने भन्दै चिल्ला भाषण ठोक्छन् ।
ओलीको कार्यशैलीप्रति सत्ता रुढ दल कांग्रेसनै असन्तुष्ट छ । जसअनुसार ओली सरकारले एक वर्षमा उपलब्धि भन्दा बढी विवाद झेल्नु पर्यो । आफ्नालाई जोगाउन र विपक्षलाई सिध्याउनमा यो सरकार लागेको आरोप लागेको छ ।
तर, अर्थतन्त्र सुधार र सेवा प्रवाहमा भने सरकारको एक वर्ष केही उपलब्धिपूर्ण देखिएको छ । प्रधानमन्त्री केपी ओलीले मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक देखिएको र विकासका राष्ट्रिय आयोजनाहरुको कामले गति लिएको दाबी गरेका छन् । तर, सुशासनको धज्जी उडाउदैँ भ्रष्टाचारीलाई जोगाउनमा यो सरकार लागेको भने प्रष्टै देखिन्छ ।