काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य साढे २४ लाख घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीसहित कार्यालय सहयोगी टीकाराम राउतलाई समेत घुस रकमसहित मंगलबार पक्राउ गरेको हो ।
चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टाको फाइल रोकेर घुस मागेको अख्तियारले जनाएको छ ।
आचार्यले कार्यालय सहयोगी राउतमार्फत् जग्गाको लगत कट्टाका लागि घुस रकम लिएको अख्तियारले जनाएको छ । अख्तियारको टोलीले उनीहरूलाई मालपोत कार्यालय परिसरबाटै घुस लिएको रकम पक्राउ गरेको छ । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।