काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएसँगै घुस काण्ड सामसुम हुने देखिन्छ । मन्त्रीहरुले राजीनामा दिएसँगै जस्तासुकै अपराध पनि सामसुम हुन्छन् भन्ने पुष्टि विगतका घटनाक्रमले गर्छ ।
यसभन्दा अघि एमालेबाटै मन्त्री बनेका गोकुल बास्कोटाको ७० करोड घुस काण्डको अडियो सार्वजनिक भयो । २०७८ सालमा सञ्चारमन्त्री रहेका बेला सेक्यूरिटी प्रिन्टिङ प्रेस खरिदमा एजेन्ट र बाँस्कोटाबीच ७० करोड कमिसनको डिल भएको अडियो सार्वजनिक भएको थियो ।
तीव्र आलोचनापछि बाँस्कोटाले पदबाट राजीनामा दिए । त्यसपछि फेरि २०७९ मा चुनाव जितेर संसद छिरेका छन् । तर, पनि उनीमाथि अनुसन्धानै भएन । उनले पदबाट राजीनामा दिएसँगै ७० करोड घुसकाण्ड सामसुम पारियो । उनले केहिलेकाही हाकाहाकी ७० करोड हान्देको हो भनिरहन्छन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका मन्त्री लक्ष्मण किशोर चौधरीले वन माफियासँग मिलेमतो गरेर आर्थिक चलखेलको योजना बनाएको अडियो सार्वजनिक भयो । दिगो वन व्यवस्थापन कार्यविधि बनाएरै सालका रुख मास्न र बिक्रीवितरण गर्न पाउने गरी मोलमोलाई गरेको अडियोमा स्पष्ट सुनिन्छ । प्रश्न उठेपछि उनले २०८१ चैत १६ गते पदबाट राजीनामा दिए । तर, साढे तीन महिना बित्दासम्म न उनीमाथि कारबाही भएको छ । न, अनुसन्धान नै ।
त्यस्तै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका लीलाबल्लभ अधिकारीले २०८१ कात्तिकमा तीन युवाको फर्जी कागज बनाएर जापान पठाउने योजना बनाए । त्यसवापत १० देखि ११ लाखसम्म असुल गरियो । तर, शंका लागेपछि जापानको अध्यागमनले फर्काएपछि मानव तस्करीको पोल खुल्यो । अधिकारीले कात्तिक २१ गते मन्त्री पदबाट राजीनामा दिए । यसबीचमा उनी पक्राउ परे । तर, मंसिर १० मा उनीविरुद्ध मुद्दा नचल्ने सरकारी वकिलको कार्यालयले निर्णय ग¥यो । प्रलोभनमा पारिएका युवा जेल पुगे । मानव तस्करी गर्ने मन्त्री जोगिए । उनलाई जोगाउनकै लागि राजीनामा दिन लगाइएको आरोप लागेको थियो ।
त्यसकारण विगतका घटनाक्रम हेर्दा मन्त्री राजकुमार गुप्ताले पनि राजीनामा दिएसँगै घुस काण्ड सामसुम हुने देखिन्छ । तर, गुप्तासँगै घुस काण्डमा मुछिएका भूमि व्यवस्थामन्त्री बलराम अधिकारी र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठमाथि अनुसन्धान हुन्छ ? की हुँदैन भन्ने प्रश्न पनि उठेको छ ।
तत्कालिन मन्त्री गुप्ताले घुस प्रकरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई समेत मुछेका छन् । श्रेष्ठले ल्याएका मान्छेले आफूलाई फसाउन पैसा छाडेर गएको दाबी गुप्ताले प्रधानमन्त्रीसँग गरेका थिए । मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो ।
सार्वजनिक अडियोमा तत्कालिन मन्त्री गुप्ताले अर्का मन्त्री बलराम अधिकारीले पैसा खाइसकेको बताएका छन् ।
अडियोका अनुसार कसले कति घुस खाए ?
गुप्ताले- ७८ लाख
मन्त्री बलराम अधिकारीले- ३१ लख
पूर्वमन्त्री रञ्जिता श्रेष्ठले- १५ लाख
तत्कालिन सचिव अर्जुन पोखरेलले- ५ लाख घुस खाएको सार्वजनिक अडिमा स्पष्ट रुपमा भनिएको छ ।
मन्त्री अधिकारी र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने शक्तिको आडमा जोगिन खोज्दैँछन् । गुप्ता, अधिकारी र श्रेष्ठमाथि अनुसन्धान गर्नुपर्ने भन्दै सत्ता र विपक्षी सांसदहरुले माग गरिरहेका छन् । तर, अनुसन्धान हुने सम्भावना भने कम देखिन्छ । किनभने यहाँ शक्ति र पावर भएकाहरुले जस्तासुकै अपराध गरेपनि छुटकरा पाउँछन् ।