काठमाडौं । नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन् ।
बिहीबार मन्त्रालयमा भएको भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेसी–रसुवागढी सडक तथा सीमा पुल निर्माण लगायतका विषयमा छलफल भएको हो । भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा चिनियाँ पक्षले चासो देखाएको छ । सीमा पुल भएको स्थान जतिसक्दो छिटो अस्थाई पुल बनाउन चिनियाँ पक्षबाट प्रतिबद्धता आएको छ ।
यसै गरी चिनियाँ सहयोगमा सञ्चालित अन्य आयोजनाहरू टोखा–छहरे सुरुङ्मार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथांका सडक लगायतका विषयमा पनि छलफल भएको थियो । छलफलमा राजदूत चेनले काठमाडौं–चक्रपथ दोश्रो खण्ड विस्ताको काम छिटै सुरु हुने बताएका छन् । भेटपछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोग प्रति धन्यवाद व्यक्त गरेका छन् । आगामी दिनमा नेपाल र चीनबिच रहँदै आएको सहकार्य अझ प्रगाढ बन्ने विश्वास समेत व्यक्त गरेका छन् ।
छलफलमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले बाढी क्षतिग्रस्त बनाएको सीमा पुल रहेको स्थानमा दसैँअघि नै पुल निर्माण हुने अपेक्षा राखिएको छ । मन्त्री दाहाल, मन्त्रालय एवं सडक विभागका अधिकारीहरूको बिच फलदायी छलफल भएको सचिव शर्माले जानकारी दिएका छन् । बाढीले नेपाल–चीनको मुख्य नाका रसुवागढीबाट आवत जावतमा कठिनाइ भएपछि मन्त्री दाहालले त्यस खण्डलाई सुचारु गर्ने विषयमा चासो लिँदै आएका छन् ।
छलफलमा सडक विभागका महानिर्देशक डा. बिजयकुमार जैसी लगायत मन्त्रालय तथा सडक विभागका अधिकारीहरू सहभागी भएका थिए ।